सरकार र पार्टीभन्दा मान्छेको ज्यान ठूलो सांसद गणेश कार्कीको अपिल
मोरङ। मोरङ–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले नियम, मानव जीवन र आत्महत्याको विषयमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेका छन्।
कार्कीले आफ्नो फेसबुक स्टाटसमा नियम मानिसका लागि बनेको उल्लेख गर्दै, नियम पालन गर्दा मानिसलाई असह्य पीडा हुने अवस्था सिर्जना भए त्यस्ता नियम पुनरावलोकन गर्नुपर्ने वा त्यसबारे नागरिकलाई अझ प्रभावकारी रूपमा बुझाउनुपर्ने बताएका छन्।
उनले “मान्छे र नियममध्ये कुन रोज्ने?” भन्ने प्रश्नको जवाफमा आफूले “मान्छे रोज्ने” उल्लेख गर्दै सरकार वा पार्टीको बचाउका लागि कुनै पनि तर्कले मानव जीवनको मूल्यलाई ओझेलमा पार्न नहुने बताएका छन्। रास्वपा तथा सरकार समर्थकहरूलाई सम्बोधन गर्दै उनले “सरकार र पार्टी जोगाउन मान्छेको ज्यानभन्दा भारी तर्क नगरौँ” भन्ने आग्रह गरेका छन्।
आत्महत्याको विषय उठाउँदै कार्कीले नेपालमा दैनिक औसत १८ जनाले आत्महत्या गर्ने तथ्यतर्फ ध्यानाकर्षण गराएका छन्। आत्महत्याको प्रमुख कारण मानसिक स्वास्थ्य समस्या वा आवेग हुन सक्ने उल्लेख गर्दै उनले यी दुवै अवस्थालाई समयमै सचेतना, जानकारी र सहयोगमार्फत कम गर्न सकिने बताएका छन्।
मानसिक स्वास्थ्य र आत्महत्या रोकथामका विषयमा खुला छलफल, जनचेतना तथा जानकारीको आदानप्रदान आवश्यक रहेको उनको जोड छ।



