देशभर मनसुन सक्रिय: कस्तो रहला आज दिनभरको मौसम ?
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शुक्रबार देशका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
जसअनुसार शुक्रबार बिहान देशभर साधारणतया बादल लागेको छ भने बागमती प्रदेशका केही स्थानमा, कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा समेत भएको छ ।
यस्तै दिउँसो देशभर साधारणतया बादल लाग्ने र हिमाली तथा पहाडी भू-भागका केही स्थानमा वर्षा वा हिमपात हुनसक्ने बताएको छ। तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना छ।
यस्तै, शुक्रबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ। कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।



