उदयपुर दुर्घटनामा एक महिलाको ज्यान गयो

उदयपुर – उदयपुरको मदन भण्डारी लोकमार्गमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् गम्भीर घाइते भएका छन्।

उदयपुरगढी गाउँपालिका–७ फुस्रे क्षेत्रमा गाईघाटबाट कटारीतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उदयपुरगढी गाउँपालिका–३ निवासी अन्दाजी २८ वर्षीया एमुना बिकको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक उनका श्रीमान् अन्दाजी २८ वर्षीय एम बहादुर बिक भने गम्भीर घाइते भएका छन्। जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि विराटनगरस्थित सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटना करिब दिउँसो २:४५ बजे भएको हो। घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट नेपालटार र चुहाडेबाट खटिएको प्रहरी टोलीले उद्धार तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको थियो।

दुर्घटनामा संलग्न ट्रक चालक सप्तरीको सुरुङ्गा नगरपालिका–१ निवासी अन्दाजी ४४ वर्षीय एकबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ। दुर्घटनाको वास्तविक कारण खुल्न बाँकी रहेकाले सवारीको गति, सडकको अवस्था र अन्य प्राविधिक पक्षबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्