‘कर्तव्य’ कथाको सान्दर्भिकतामाथि अन्तरसंवाद
गौरीगञ्ज – साहित्य चौतारी गौरीगञ्जले साहित्यिक कार्यक्रमको क्षेत्रमा फरक र सिर्जनात्मक पहल गर्दै कथाकार गुरुप्रसाद मैनालीद्वारा लिखित चर्चित कथा ‘कर्तव्य’को सान्दर्भिकतामाथि अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको छ।
गौरीगञ्ज माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा गौरीगञ्ज गाउँपालिका–३ का वडाध्यक्ष श्रवण गिरीको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रमको संयोजन महेन्द्र ठाकुरले गरेका थिए भने सञ्चालन मनिता सुवेदीले गरेकी थिइन्।
कार्यक्रममा गौरादह नगरपालिका तथा गौरीगञ्ज गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरूले ‘कर्तव्य’ कथाको वर्तमान सन्दर्भमा महत्त्व, कथाले उठाएका सामाजिक विषयवस्तु तथा आजको पुस्ताका लागि यसको सान्दर्भिकताबारे बहस तथा अन्तरसंवाद गरेका थिए।
अमर माध्यमिक विद्यालय बैगुन्धुरा, नमुना अंग्रेजी माध्यमिक विद्यालय, गौरीगञ्ज माध्यमिक विद्यालय, खजुरगाछी माध्यमिक विद्यालय, ज्ञानकुञ्ज एकेडेमी, ज्ञानोदय आवासीय माध्यमिक विद्यालय, देवकोटा आवासीय माध्यमिक विद्यालय, स्नोह्वाइट अंग्रेजी माध्यमिक विद्यालय र युनिभर्सल एकेडेमीका विद्यार्थीहरूले वक्ताका रूपमा सहभागिता जनाएका थिए।
विद्यार्थीहरूले कथाका पात्र, परिवेश, सामाजिक मूल्य–मान्यता तथा कर्तव्यबोधका विषयमा आफ्ना धारणा प्रस्तुत गर्दै कथालाई वर्तमान समाजसँग जोडेर व्याख्या गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूको प्रस्तुति र विचारले साहित्यलाई केवल पाठ्यक्रममा सीमित नराखी त्यसलाई जीवन र समाजसँग जोडेर बुझ्ने अवसर प्रदान गरेको साहित्य चौतारीका अध्यक्ष श्याम न्यौपानेले बताउनु भयो ।
अन्तरसंवादसँगै कार्यक्रममा गीत, कविता तथा शुभकामना मन्तव्यसमेत प्रस्तुत गरिएको थियो। साहित्य चौतारी गौरीगञ्जको आयोजनामा सम्पन्न कार्यक्रमले विद्यार्थीहरूमा साहित्यप्रतिको रुचि बढाउनुका साथै तर्क गर्ने, आफ्ना विचार प्रस्तुत गर्ने र फरक दृष्टिकोणलाई विश्लेषण गर्ने समालोचनात्मक क्षमताको विकासमा उल्लेखनीय योगदान पुर्याएको सहभागीहरूले बताएका छन्।
साहित्यिक कृतिमाथि विद्यार्थी स्वयंलाई वक्ता र बहसकर्ताका रूपमा सहभागी गराइएको यस प्रकारको कार्यक्रमले विद्यालय तहमा साहित्यिक बहसको संस्कृति विकास गर्न सहयोग पुग्ने विश्वास साहित्य चौतारीका सहसचिव प्रवेश श्रेष्ठले बताउनुभयो ।



