‘चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक सामग्री फैलाइयो’ : पत्रकार महासंघ झापाका अध्यक्ष गिरी
झापा, साउन २२ – नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले सामाजिक सञ्जालमा आफूविरुद्ध फैलाइएका सामग्री भ्रामक, निराधार तथा चरित्र हत्या गर्ने उद्देश्यले प्रचार गरिएको बताएका छन्।
शुक्रबार सार्वजनिक वक्तव्य जारी गर्दै अध्यक्ष गिरीले केही समययता सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर विभिन्न आरोप लगाइएको उल्लेख गर्दै ती आरोपमा कुनै सत्यता नरहेको दाबी गरेका हुन्। उनले नितेश ओलीसँग आफ्नो प्रत्यक्ष भेट वा व्यक्तिगत चिनजानसमेत नभएको स्पष्ट पारे।
नेपाल पत्रकार महासंघ झापाले नितेश ओलीका विषयमा संस्थागत रूपमा दिएको जाहेरीलाई व्यक्तिकेन्द्रित बनाउँदै आफूलाई लक्षित गरी भइरहेको प्रचार गम्भीर विषय भएको गिरीको भनाइ छ।
४१ लाख रुपैयाँको चेकबारे उठाइएका प्रश्नको जवाफ दिँदै गिरीले उक्त चेक चार वर्षअघि जग्गा सम्बन्धी एक परियोजनाका क्रममा काटिएको बताए। उनका अनुसार सरकारी निकायमा तमसुकसमेत तयार भएको भए पनि आर्थिक मन्दीका कारण परियोजना अघि बढ्न नसकेपछि सम्बन्धित पक्ष र साक्षीहरूको उपस्थितिमा चेक तथा तमसुक दुवै रद्द गरिएको थियो।
त्यस्तै, सुरेन्द्रकुमार उप्रेतीसँग जोडिएको विषय इलाका प्रहरी कार्यालय र झापा जिल्ला अदालतबाट तीन वर्षअघि नै टुंगिएको प्रकरण भएको उल्लेख गर्दै त्यसलाई पुनः सामाजिक सञ्जालमा उठाएर चरित्र हत्या गर्न खोजिएको आरोप उनले लगाए। यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा निवेदनसमेत दर्ता गराइसकेको जानकारी उनले दिएका छन्।
गिरीले आफूले कसैको रकम चलाएर नतिरेको दाबी गर्दै त्यसको प्रमाण भए सार्वजनिक गर्न वा सम्बन्धित निकायमा उजुरी दिन आग्रह गरेका छन्। आफूबाट कुनै कानुनविपरीत कार्य भएको प्रमाणित भए कानुनी सजाय भोग्न तयार रहेको उनले बताएका छन्।
वक्तव्यमार्फत उनले नितेश ओलीलाई पनि सामाजिक सञ्जालमा आरोप लगाएर मात्र नबस्न, सम्बन्धित निकायमा उपस्थित भई प्रमाणसहित आफ्नो दाबी पुष्टि गर्न आग्रह गरेका छन्। “सामाजिक सञ्जालको इजलासले न्याय दिन सक्दैन, कानुनी प्रक्रियाले मात्र सत्यको निरुपण गर्छ,” उनले वक्तव्यमा उल्लेख गरेका छन्।
आफ्नो २८ वर्षे पत्रकारिता जीवनमा पेशागत मर्यादा र नैतिकताविपरीत कुनै कार्य नगरेको दाबी गर्दै गिरीले सामाजिक सञ्जालमा फैलिने असत्य र भ्रमप्रति सजग रहन सबैसँग आग्रह गरेका छन्। उनले सत्य स्थापित हुन समय लाग्ने भए पनि कानुनी प्रक्रियाप्रति आफू विश्वस्त रहेको उल्लेख गरेका छन्।
अन्त्यमा गिरीले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको भन्दै चरित्र हत्या, अफवाह र दण्डहीनताको प्रवृत्तिविरुद्ध सबै पक्ष गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याएका छन्। साथै, सुशासन र न्याय स्थापित गर्न नागरिक तहबाट पनि सकारात्मक दबाब आवश्यक रहेको उनको भनाइ छ।



