ओलीलाई चुनौती दिन हिक्मतको अडान


विराटनगर, साउन १८ — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा दिनुपर्ने निर्देशन अस्वीकार गर्दै पदमा कायम रहने अडान दोहोर्याएका छन्। अध्यक्ष ओलीको सन्देश लिएर विराटनगर पुगेका पूर्वमुख्यमन्त्री शेरधन राईले राजीनामाको आग्रह गरे पनि कार्कीले संवैधानिक आधारमा आफू मुख्यमन्त्री रहेकाले नहट्ने बताएका छन्।
कार्की पक्षका अनुसार संविधानको धारा १६८(५) अन्तर्गत नियुक्त मुख्यमन्त्रीलाई राजीनामा, अविश्वास प्रस्ताव, विश्वासको मत गुम्नु, सांसद पद समाप्त हुनु वा मृत्युबाहेक पदमुक्त गर्न नसकिने व्यवस्था छ। त्यसैले दलभित्रको निर्णयले मात्रै मुख्यमन्त्री पद स्वतः समाप्त नहुने उनीहरूको दाबी छ।
एमालेभित्र अध्यक्ष ओलीले कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी गरिरहेको चर्चा छ। तर कार्की पक्षले अन्य दलको समर्थन कायम रहेको र प्रदेशसभामा सरकार तत्काल संकटमा नरहेको दाबी गरेको छ।
यसैबीच नेकपाले एमालेको आन्तरिक विवाद प्रदेशसभामा नलैजान सुझाव दिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार संवैधानिक प्रावधान र एमालेभित्रको शक्ति सन्तुलनका कारण कार्कीले अध्यक्ष ओलीको निर्देशनलाई खुला चुनौती दिने आत्मविश्वास देखाएका हुन्।

प्रतिक्रिया दिनुहोस्