पहिलो पाइला नेपाल कमल शाखाको कार्यसमिति गठन तथा पदस्थापना
कमल । सामाजिक क्षेत्रमा क्रियाशील संस्था पहिलो पाइला नेपाल, कमल शाखाले नयाँ कार्यसमिति गठन तथा पदस्थापना कार्यक्रम सम्पन्न गरेको छ। कमल गाउँपालिका–५, पाडाजुङ्गीस्थित वनमारा क्याफेमा आयोजित कार्यक्रममा विभिन्न सामाजिक संघ–संस्था, जनप्रतिनिधि, संस्थाका पदाधिकारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष प्रमिला तिवारीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम पहिलो पाइला नेपाल कमल शाखाकी अध्यक्ष सञ्जु निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, लायन्स क्लब कमलका प्रमुख भुवन निधि, वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारी, पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौला, जीवनचक्र समाज नेपालका अध्यक्ष जीपी गौतम, मंगलमय टोल विकास संस्थाका अध्यक्ष गणेश प्रधान, सहिदमार्ग टोल विकास संस्थाका अध्यक्ष भीम पौडेललगायत विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि तथा पहिलो पाइला नेपालका केन्द्रीय सचिव, महासचिव र सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले पहिलो पाइला नेपालले सामाजिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै स्थानीय सरकारका तर्फबाट संस्थालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संस्थालाई चलायमान, प्रभावकारी र समुदायमुखी बनाउन स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग रहने बताउनुभयो।
विशेष अतिथि गाउँपालिका उपाध्यक्ष प्रमिला तिवारी तथा कार्यक्रममा उपस्थित अन्य अतिथिहरूले पनि पहिलो पाइला नेपालको नयाँ कार्यसमितिलाई शुभकामना दिँदै सामाजिक सेवाका क्षेत्रमा संस्थाले अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष सञ्जु निरौलाले पहिलो पाइला नेपाल केवल फोटो खिच्ने र खिचाउने संस्था नभएको बताउनुभयो। उहाँले समाजमा रहेका विकृति, विसंगति र बेथितिविरुद्ध आवाज उठाउँदै सकारात्मक परिवर्तनका लागि काम गर्ने संस्थाको मुख्य उद्देश्य रहेको स्पष्ट पार्नुभयो।
समुदायसँग प्रत्यक्ष जोडिएर सामाजिक सेवा, मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा संस्थालाई थप सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष निरौलाले आगामी दिनमा विभिन्न सामाजिक गतिविधिलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने बताउनुभयो।
कार्यक्रममा नवगठित कमल शाखा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको पदस्थापना समेत गरिएको थियो। अध्यक्ष सन्जु निरौला ,उपाध्यक्ष कुमार पराजुली ,सचिब दिपेन्द्र खतिवडा लगायत ९ सदस्य कार्यसमिती गठन गरिएको निर्बाचन समयोजक खेम सापकोटाले जानकारी दिए। साथै कार्यक्रममा सहभागी अतिथिहरूलाई संस्थाका तर्फबाट मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
पहिलो पाइला नेपाल कमल शाखाले आगामी दिनमा सामाजिक उत्तरदायित्व, मानवीय सेवा तथा समुदायमा सकारात्मक परिवर्तनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै संस्थाको गतिविधिलाई थप विस्तार र प्रभावकारी बनाउने जनाएको छ।



