प्रवासी नेपाली एकता समाज, यूएईको अध्यक्षतामा आचार्य
दुबई। प्रवासी नेपाली एकता समाज, यूएईको तेस्रो अधिवेशनले नारायण आचार्यको अध्यक्षतामा सन् २०२६–२०३० कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
मंगलबार सम्पन्न अधिवेशनले यूएईमा रहेका नेपालीबीच एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रममा यूएईका विभिन्न क्षेत्रबाट नेपाली समुदाय, सामाजिक तथा धार्मिक संघसंस्थाका प्रतिनिधि, पत्रकार, व्यवसायी र समाजसेवीको उल्लेखनीय सहभागिता रहेको थियो।
अधिवेशनको अध्यक्षता तत्कालीन कार्यवाहक अध्यक्ष नारायण आचार्यले गरेका थिए भने प्रमुख अतिथिका रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तोयानाथ लम्साल सहभागी थिए। शुभकामना मन्तव्य दिने वक्ताहरूले प्रवासी नेपालीलाई एकताबद्ध बनाउन संस्थाले अझ सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखे।
प्रमुख अतिथि लम्सालले विदेशमा रहेका नेपालीले रेमिट्यान्ससँगै नेपालको भाषा, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गरिरहेको उल्लेख गर्दै प्रवासी संस्थाहरूको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताए।
निर्वाचन समिति संयोजक गोपालप्रसाद पराजुलीले सम्पूर्ण पदाधिकारी सर्वसम्मत चयन भएको घोषणा गरेका थिए।



