क्यानडामा NCNC को वार्षिक साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन

क्यानडा – नेपाली कम्युनिटी नेटवर्क अफ क्यानडा (NCNC) को वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। सभाबाट नयाँ कार्यसमिति चयन भई संस्थाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व पाएको छ।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्षका रूपमा बेदनिधि गौतम र महासचिवका रूपमा दुर्गा केसी चयन हुनुभएको छ। साथै, अन्य पदाधिकारीसहितको सम्पूर्ण कार्यसमितिले जिम्मेवारी सम्हाल्दै संस्थालाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ।

यस अवसरमा नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेस (NCCS) ले एक बधाई सन्देश जारी गर्दै नवनिर्वाचित अध्यक्ष गौतम, महासचिव केसी तथा सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल, प्रेरणादायी र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेको छ। NCCS ले नयाँ नेतृत्वको ऊर्जाशीलता र प्रतिबद्धतामा विश्वास व्यक्त गर्दै NCNC ले समाज, संस्कृति र समुदायको हितमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरेको छ।

त्यसैगरी, NCCS ले सन् २०२४–२६ कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुहुने निवर्तमान अध्यक्ष दिनेश खतिवडा, महासचिव रामकृष्ण रेग्मी तथा उहाँहरूको सम्पूर्ण टिमप्रति विशेष धन्यवाद तथा आभार प्रकट गरेको छ। उनीहरूले आफ्नो कार्यकालमा समुदायको उत्थान र संस्थागत विकासका लागि पुर्‍याएको योगदानलाई उच्च मूल्यांकन गरिएको छ।

NCNC क्यानडामा नेपाली समुदायबीच समन्वय, सहयोग र सांस्कृतिक प्रवर्द्धनका क्षेत्रमा क्रियाशील एक महत्वपूर्ण संस्था हो। नयाँ कार्यसमितिको नेतृत्वमा संस्थाले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम र गतिविधिहरू सञ्चालन गर्दै समुदायलाई सशक्त बनाउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्