जापानले पायो पहिलो महिला प्रधानमन्त्री
टोकियो — जापानले आफ्नो पहिलो महिला प्रधानमन्त्री पाएको छ। मंगलबार संसद्को तल्लो सदनबाट अनुमोदन भएपछि सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)की ६४ वर्षीया नेतृ सानाई टाकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार टाकाइचीले प्रतिनिधि सभाका ४६५ सदस्यमध्ये २३७ मत प्राप्त गरेकी थिइन्। बहुमतका लागि आवश्यक २३३ मतभन्दा बढी समर्थन पाउँदासँगै उनी प्रधानमन्त्री बन्न निश्चित भएकी हुन्।
टाकाइचीले आज साँझ नै नयाँ प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको बताइएको छ।
यसअघि इशिबा जापानका प्रधानमन्त्री रहेका थिए। तर, उनको दलले संसद्का दुवै सदनमा बहुमत गुमाएपछि उनी पदच्युत भएका थिए। इशिबा गत अक्टोबरमा प्रधानमन्त्री बनेका थिए।



