कमलमा निःशुल्क महिला स्वास्थ्य शिविर, अध्यक्ष राईको सक्रियतामा ग्रामीण महिलाले पाए विशेषज्ञ सेवा
कमल । झापाको कमल गाउँपालिकामा महिला स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको सक्रिय पहल र निरन्तर अनुगमनमा सञ्चालन गरिएको निःशुल्क महिला स्वास्थ्य शिविर प्रभावकारी रूपमा सम्पन्न भएको छ।
प्रजनन रुग्णता स्वास्थ्य सेवा अन्तर्गत सञ्चालन गरिएको उक्त शिविरले ग्रामीण क्षेत्रका महिलाहरूलाई घरआँगनमै विशेषज्ञ सेवा उपलब्ध गराउँदै उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
अध्यक्ष राई स्वयं कार्यक्रमस्थलमा पुगेर सेवाको निरीक्षण तथा अनुगमन गरेका थिए। उनले स्वास्थ्यकर्मीहरूसँग प्रत्यक्ष छलफल गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशनसमेत दिएका थिए। स्थानीय सरकार नागरिकको आधारभूत स्वास्थ्य अधिकारप्रति प्रतिबद्ध रहेको सन्देश दिन यस्ता कार्यक्रमहरू महत्वपूर्ण भएको उनले बताए।
आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्राविधिक समन्वय तथा कमल गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न शिविरमा प्रजनन स्वास्थ्य, पाठेघरसम्बन्धी समस्या, पाठेघरको मुखको क्यान्सर परीक्षण (VIA टेस्ट), स्तन परीक्षण, आङ खस्ने समस्या, परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या (STI, PID), फिस्टुलालगायत महिला रोगसम्बन्धी विविध सेवाहरू प्रदान गरिएको थियो। विशेषगरी क्यान्सरको प्रारम्भिक परीक्षणलाई प्राथमिकतामा राख्नु अध्यक्ष राईको स्वास्थ्य नीतिको महत्वपूर्ण पक्षको रूपमा हेरिएको छ।
शिविरमा डा. रेश्मा दाहालसहित सी.ए.एन.एम. निरीक्षक हीमा देवी मगर, सी.ए.एन.एम. सबिता गुरुङ, ए.एन.एम. बिन्द्रा राईलगायत अनुभवी स्वास्थ्यकर्मीहरूको टोली तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूले सेवा प्रदान गरेका थिए। सहभागी महिलाहरूले स्वास्थ्य परीक्षणसँगै परामर्श र आवश्यक औषधि निःशुल्क प्राप्त गरेका थिए।
आधारभूत स्वास्थ्य सेवा केन्द्र, कमल–७ का प्रमुख अमृतबहादुर लिम्बूका अनुसार शिविरबाट ४१ जना महिलाहरू प्रत्यक्ष लाभान्वित भएका छन्। स्थानीय महिलाहरूले आफ्नै वडामै सेवा पाउँदा समय, खर्च र दूरीको समस्या समाधान भएको बताउँदै अध्यक्ष राईप्रति आभार व्यक्त गरेका छन्।
स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दाहालका अनुसार गाउँपालिकाले पछिल्लो समय समुदाय केन्द्रित स्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राख्दै निरन्तर सेवा विस्तार गर्दै आएको छ। अध्यक्ष राईको नेतृत्वमा सञ्चालन भइरहेका यस्ता कार्यक्रमहरूले विशेषगरी ग्रामीण महिलाहरूमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै लुकेर बसेका रोगहरूको समयमै पहिचानमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन्।
यसैबीच, गाउँपालिकाले सञ्चालन गरेको महिला स्वास्थ्य शिविरअन्तर्गत कमल–३ र कमल–१ मा समेत सम्पन्न भई क्रमशः ८६ र ४१ जना महिलाहरू लाभान्वित भएको स्वास्थ्य शाखाले जनाएको छ। अध्यक्ष राईको सक्रियतामा आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई थप विस्तार गरिने जनाइएको छ।



