मिडिया नेपाल झापा सह-सचिवमा गौतम मनोनित
झापा – मिडिया नेपाल झापा शाखाको सह-सचिव पदमा युवा पत्रकार सुजन गौतम मनोनित भएका छन् । मिडिया नेपालको कार्यसमितिको निर्णयअनुसार दमकका क्रियाशिल पत्रकार गौतमलाई सह-सचिव पदमा मनोनयन गरिएको हो ।
तेह्रथुमको म्याङ्लुङ नगरपालिकामा जन्मिएका पत्रकार गौतम हाल झापाको दमकमा बसोबास गर्दै आएका छन् । उनी नेक्स्ट नेपाल मिडिया प्रा.लि.द्वारा सञ्चालित मल्टिमिडिया डट कमका सञ्चालक समेत हुन् । साथै, न्युज झापा अनलाइन र पूर्व सन्देश पत्रिका लगायत विभिन्न सञ्चार माध्यम तथा संस्थामा उनी आबद्ध रहँदै आएका छन् ।
२२ वर्षे उमेरमै पत्रकारितामा सक्रिय गौतमले पाँच वर्षभन्दा बढी समयदेखि निरन्तर पत्रकारिता गर्दै आएका छन् । स्थानीयदेखि राष्ट्रिय विषयवस्तुमा समाचार, सूचना र जनसरोकारका मुद्दा उठाउँदै आएका उनी युवामाझ परिचित नाम हुन् ।
मनोनयन पत्रमा मिडिया नेपालले पत्रकार गौतमको अनुभव, सक्रियता र प्रतिबद्धताले संस्थाको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
साथै, संस्थाको विधान, नियम र निर्णयअनुसार जिम्मेवारी निर्वाह गर्दै आगामी दिनमा संस्थाका गतिविधिमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ । पत्रकार गौतमको मनोनयनसँगै मिडिया नेपाल झापा शाखामा युवाको सहभागिता थप सशक्त हुने विश्वास गरिएको छ ।



