कोशी प्रदेशमा स्टार्टअप उद्यममा दुई अर्ब ५६ लगानी
काठमाडौँ : नेपाल राष्ट्र बैंकको स्टार्टअप उद्यमको प्रवृत्तिसम्बन्धी विशेष अध्ययन प्रतिवेदन अनुसार कोशी प्रदेशमाकुल लगानी दुई अर्ब ५६ करोड रहेको छ । ३८.७ प्रतिशत हिस्सा ऋण छ भने ६१.३ प्रतिशत हिस्सा स्वपुँजी रहेको छ ।
अध्ययन अनुसार २१ देखि ३५ वर्ष उमेर समूहका ३९.३ प्रतिशत, ३६ देखि ५० वर्ष उमेर समूहका ४४.४ प्रतिशत र ५० देखि ७० वर्ष उमेर समूहका १६.२ प्रतिशत उद्यमी रहेका छन्। त्यस्तै, २१ देखि ३५ वर्ष उमेर समूहका उद्यमीमध्ये सबैभन्दा बढी सूचना प्रविधि क्षेत्रमा ७३.३ प्रतिशत र सबैभन्दा कम कृषि क्षेत्रमा २१.२प्रतिशत उद्यमी संलग्न रहेका अध्ययनमा उल्लेख छ ।
युवापुस्ताले डिजिटल र प्रविधिमा केन्द्रित उद्यममा बढी रुचि राखेका देखिन्छ भने ३६ देखि ५० वर्ष उमेर समूहका उद्यमी सबैभन्दा बढी कृषि क्षेत्रमा संलग्न रहेका देखिन्छ । सबैभन्दा कम सूचना प्रविधि क्षेत्रमा २६ दशमलव सात प्रतिशत युवा आवद्ध रहेका छन् । साथै ५० देख ७० वर्ष उमेर समूहका सबैभन्दा बढी २७ दशमलव तीन प्रतिशत पर्यटन क्षेत्रमा रहेको देखिन्छ भने सूचना प्रविधि क्षेत्रमा यो उमेर समूहको कुनै पनि संलग्नता नरहेको अध्ययनमा उल्लेख छ ।
औैद्योगिक व्यावसाय विकास प्रतिष्ठानमा स्टार्टअप कर्जाका लागि आवेदन दर्ता गरेका र ‘सर्टलिष्ट’ भएका कोशी प्रदेशका उद्यमहरूको सङ्ख्यालाई आधार मानी १६० वटा स्टार्टअप उद्यमबाट तथ्याङ्क सङ्कलन गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
अध्ययनमा सहभागी १६० उद्यममा कृषि तथा वनजन्य, उत्पादनमूलक, सेवामूलक, पर्यटन र सूचना प्रविधि गरी पाँच व्यावसायिक क्षेत्र समावेश छन् । त्यसमा कृषि तथा वनजन्य ४१.३प्रतिशत, उत्पादनमूलक १८.१ प्रतिशत, सेवामूलक १७.५ प्रतिशत, पर्यटन १३.८ प्रतिशत र सूचना प्रविधि क्षेत्रमा ९.४प्रतिशत उद्यम छन् ।



