हिमालय माविमा कृष्णप्रसादको “जीवन यात्रा” विमोचन
खाँदबारी : सङ्खासभाको खाँदबारी-१ स्थित श्री हिमालय मावि खाँदबारीको सभाहलमा कृष्णप्रसाद तामाङ् लिखित जीवन यात्रा नामक पुस्तक विमोचन भएको छ ।
साहित्यकार एवम् हिमालय मावि खाँदबारीका पूर्वविद्यार्थी एवम् हालका प्रधानाध्यापक ताराबहादुर बुढाथोकीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको आयोजना हिमालय माध्यमिक विद्यालय खाँदबारीले गरेको हो। कृतिका लेखक कृष्णप्रसाद तामाङ् यसै विद्यालयका पूर्व विद्यार्थी, पूर्व शिक्षक तथा पूर्व प्रधानाध्यापक पनि भएकोले विद्यालयले सम्मान स्वरुप विमोचन कार्यक्रममा राखिएको थियो ।
विमोचन कार्यक्रममा प्रमुख अतिथि विव्यस अध्यक्ष शेरबहादुर पाराजुली, अतिथिहरुमा पूर्व विव्यस अध्यक्ष तथा पूर्व प्रअ विश्वकुमार बज्राचार्य, पूर्व जिल्ला शिक्षा प्रमुख केशव भट्टराई, स्रष्टा एवम् पूर्व विद्यार्थी रामप्रसाद लम्साल,पूर्व विद्यार्थी दुर्गा ब.बिष्ट , कवि विनोद गुरुङ्, कवि पार्वती दाहाल,शिअसंघ अध्यक्ष सुनिता गुरुङ्, पूर्व विद्यार्थी एवम् पूर्व शिक्षक सुभद्रा बज्राचार्य र तेजनाथ पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।
ब्यानर बाचन गरेर प्रमुख अतिथिले शेरबहादुर पराजुलीले उद्घाटन गर्नुभएपछि सहायक प्रअ एवम् गीतकार भरत कुलुङ्ले स्वागत मन्तब्य दिए भने कार्यक्रम सन्चालन स्रष्टा एवम् शिक्षक भेषराज न्यौपानेले गरेका थिए ।
स्वागतकै क्रममा पुस्तक र स्रष्टाको चर्च गर्दै गीतकार भरत राईले पुस्तकहरु भित्रका रोचक प्रसङ्गहरु शेयर गरे । पुस्तक पठनीय र उपयुक्त रहेको चर्चा पनि गर्नुका साथै कृतिकारको जीवनको गोलाइलाई सबै आयामबाट जुरुक्क उचाले । खण्ड खण्ड गरेर लेख्नु उचित हुने उनको सुझाव रह्यो ।
साहित्यकार तारा बहादुर बुढाथोकी, प्रमुख अतिथि र अन्य मन्चासीन स्रष्टाले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो । कृति र्चाकार कवि फणीन्द्र खनालले थाहै नपाइ मौलिक रस, विम्व र प्रतीकहरुको छेलो खेलो प्रवाह रहेको चर्चा गरे । संघर्षको पाटा र पक्षहरुमाथि प्रकाश पारेर जीवन यात्राको यात्रीलाई सपाट रुपमा चिनाउने कोशीष गरे । पूर्वीय काव्य सिद्धान्तको कसीमा उनले कृतिको पारख गरे । कृतिले समाज र समय जस्ताको तस्तै पस्किएकोले इतिहास अर्थात् समयबिम्बको एउटा लिखित दस्तावेज भएको बिचार ब्यक्त गरे।
अर्का स्रष्टा खगेश्वर घिमिरेले कृतिलाई पाश्चात्य साहित्य सिद्धान्तको आलोकमा विवेचना गरे । यसलाई संस्मरणात्मक आख्यान तत्व रहेको प्रतीकात्मक कृतिको रुपमा चित्रित गरे। ती स्मृतिहरु उत्तरआधुनिक दृष्टिले पनि हेर्न सकिने भएको भन्दै नोष्टाल्जियाको पनि सङ्केतहरु छरपस्ट रहेको उल्लेख गरे ।
कृतिकार कृष्णप्रसाद तामाङ्ले सबै सहयोगी लाई धन्यवाद व्यक्त गर्ने क्रममा कृतिलाई पठनीय बनाउने कुरामा स्रष्टा बुढाथोकीले सम्पादनमा खेलेको भूमिका प्रति आभार व्यक्त गरे । मनका भावनाहरू यसरी भाव बोकेर शब्दमा ओर्लिएको देखेर प्रसन्नता पनि ब्यक्त गरे । उनका आँखामा हर्षाश्रु छचल्किए । सानो कृतिमा ठूलो सपना अटाएकोमा उनले विछट्टै खुसी ब्यक्त गरे।
प्रमुख अतिथि शेरबहादुर पराजुलीले कृतिकारलाई सफलकृतिको लागि बधाइ दिँदै यो विद्यालयबाट यति महत्वपूर्ण साहित्यिक अनुष्ठान सम्पन्न गर्ने अवसर पाएकोमा लेखकलाई धन्यवाद दिए । कृति पढिरहूँ जस्तो भएकोले यति सुन्दर सिर्जनालाई माया गर्न सबैलाई आग्रह गर्दै सफलताको शुभकामना दिए।
सभापतिको आसनबाट बोल्दै साहित्यकार ताराबहादुर बुढाथोकीले माधव घिमिरेको “ढुङ्गा काप फोरेर पनि ………हुँदैन विफल। तल्ला तुप्लुक् पातको पानी माटोमा झर्दछ,कुनामा छिनो लिएर शिल्पी सिर्जना गर्दछ।”भनेझैं लेखक कृष्णप्रसादको अभ्यस्त प्रतिभाबाट यस कृतिको जन्म भएको बिचार व्यक्त गरे। पाण्डुलिपी बाट यसलाई भाषिक रुपले सिँगार्न र दुइ शब्द लेख्न समेत अवसर दिनु भै विमोचन समेत गर्ने मौका दिनुभएकोमा स्रष्टा कृष्णप्रसादप्रति आभार ब्यक्त गरे। उनले पब्लिक पिकासोले १० सेकेण्डमा बनाएको चित्रको मूल्य-सन्दर्भसँग ७७ बर्षीय कृष्णप्रसादको सानो कृतिको महत्व उल्लेख गरे। पुस्तकाकार ग्रहण गरिनसकेको ५४ पृष्ठमा लेखिएको यो जीवन यात्राले तत्कालीन नेपाली समाज र युवाहरुले भोगेको गाउँबस्तीको दु:ख र मुङ्लानमा भोगेको डायस्पोरिक जिन्दगीको जीवन्त तस्वीर रहेकोले महान् उपन्यासको लागि बीज, विन्दु, पताका, प्रकारी र कार्य लगायत अन्विति त्रय पाइने कुरा बताए। साहित्य भन्ने कुरा जिम्मेवारीले हराउने कुरा होइन,जिम्मेवारीभित्रैबाट टुसा हाल्दोरहेछ भन्ने अनुभुति ब्यक्त गरे।
नर्सरी देखि कक्षा १२ सम्म जम्मा १३८२ विद्यार्थी अध्ययनरत यो विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा परिचित छ।समारोह पछि साँझमा कृतिकार कृष्ण तामाङले हिमालय मा.वि.को पुस्तकालयमा रहने गरी आफ्नो पुस्तक पसलबाट रु. ५८,८३० मूल्य बराबरको पुस्तक पनि प्रधानाध्यापकलाई नि: शुल्क हस्तान्तरण गर्नुभयो।





