झापा महिला गोल्डकपको तयारी अन्तिम चरणमा
बिर्तामोड (हाम्रो खेलकुद)- झापा महिला गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितको तयारी अन्तिम चरणमा पुगेको छ ।
झापाको शिवसताक्षीमा पहिलोपटक हुन लागेको झापा महिला गोल्डकप आयोजनाका लागि तयारी अन्तिम चरणमा पुगेको हो ।
प्रतियोगिताका लागि ३ हजार दर्शक क्षमताको पक्कीको स्थायी प्यारापिटमा कुर्सी जडानको काम सकिएको छ । अतिथि र विशेष दर्शकका लागि ३ सय वटा कुर्सी निर्माण गरिएको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट धमाधम बनाइँदैछ ।
त्यस्तै, प्रतियोगितालाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए । खेलमैदान उत्कृष्ट र शानदार बनाइएको छ ।
गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार गोल्डकप यसअघि भएका महिला फुटबल प्रतियोगितामध्ये सबैभन्दा आकर्षक र भव्य बन्ने अपेक्षा गरिएको छ । प्रतियोगिता यही कात्तिक १५ गतेदेखि २२ गतेसम्म शिवसताक्षीस्थित दुधे रंगशालामा हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले उपाधिसहित १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष थोप्राले जानकारी दिए ।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा आठवटा टिमको सहभागिता रहने सचिवालय प्रमुख खरेलले जानकारी दिए ।
नेपालका तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल एपिएफ र नेपाल पुलिस क्लबका महिलाको सहभागिता टुंगो लागिसकेको छ । त्यस्तै, संकटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब र आरएस पोखरा फुटबल क्लब तथा भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
आयोजक समितिले यो प्रतियोगितालाई महिला खेलाडीमा प्रेरणा जगाउने र ग्रासरुट स्तरमै महिला फुटबललाई सुदृढ बनाउने अभियानका रूपमा लिएको जनाएको छ ।



