दमक नगरपालिकाका प्रमुख र उपप्रमुखद्वारा विद्यालयहरूको निरीक्षण
दमक, झापा। दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराई प्रसाईले आज विभिन्न सामुदायिक विद्यालयहरूको स्थलगत निरीक्षण गरेका छन्। संघीय विशेष अनुदान अन्तर्गत प्राप्त ३ करोड बजेटमार्फत विद्यालयहरूमा भौतिक पूर्वाधार तथा आवश्यक संरचनाहरू निर्माण सम्पन्न हुने चरणमा पुगेको छ।
निरीक्षण टोलीमा नगरपालिकाको शिक्षा शाखा अधिकृत सोम गुरागाई, प्राविधिक इन्जिनियर गणेश गुरुङ, प्रेम बास्तोला, सुनिल भण्डारी तथा निर्माण व्यवसायीका प्रतिनिधिहरू सहभागी थिए। नगरप्रमुख र उपप्रमुखले विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकहरूसँग छलफल गर्दै थप आवश्यकताबारे जानकारी लिएका छन्।
निरीक्षणका क्रममा विभिन्न विद्यालयमा शौचालय, भवन निर्माण, सेफ्टी ट्याङ्क, खेल्ने सेड, तथा भवनको तला थपजस्ता कार्य सम्पन्न हुने क्रममा रहेको देखिएको छ। नगरपालिकाले शिक्षा क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिँदै आगामी दिनमा थप विद्यालयहरूको भौतिक पूर्वाधार सुदृढीकरणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको छ।



