गुणस्तरीय शिक्षाका लागि पञ्चायत मावि : २४ गते प्रवेशिका परीक्षा


शनिश्चरे नगरपालिकाको पथरीस्थित श्री पञ्चायत माविमा विभिन्न विषय र संकायअन्तर्गत कक्षा ११ का लागि भर्ना खुलेको छ । स्थानीय बालिका निकिता राईले यसवर्ष एसईईमा ३.९६ ल्याएर जिल्लामै पहिलो स्थान कायम गरेको यो माविमा पथरी शनिश्चरे नगरपालिकाबाहेक झापाका विभिन्न पालिका, सुनसरीका विभिन्न पालिका, पहाडी जिल्लाहरू र मधेश प्रदेशका जिल्लादेखि विद्यार्थीहरू पढ्नका लागि आउने गर्दछन् ।

श्री पञ्चायत माविको कार्यदक्ष बालबालिकाको भविष्यको सुनिश्चिततासहितको शिक्षा उद्घोष गरेअनुरुप नतिजा निकाल्नमा सफल यो सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाकै कारण आकर्षणता बढेको स्थानीयहरू बताउने गर्नुहुन्छ ।

शिक्षामा अब्बल श्री पञ्चायत मावि कक्षा ११ मा विज्ञान, कानून, ललितकला, मानविकी, व्यवस्थापन, शिक्षा, पत्रकारिता, सिभिल संकायमा भर्ना खुलेको हो । उच्च मावि तहको पढाइ सुरु श्री पञ्चायत माविलाई नेपाल सरकार शिक्षा विभागले ल्याएको एक निर्वाचन क्षेत्र एक नमूना विद्यालय कार्यक्रमअन्तर्गत छनोट गरिएको थियो । २०३६ सालमा स्थापना भएको श्री पञ्चायत माविमा पूर्णतः मण्टेश्वरी आधारित शिशु कक्षादेखि १२ कक्षासम्म र प्राविधिकधारतर्फ सिभिलको पढाई हुँदै आएको छ ।

कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अङ्ग्रेजी माध्यममा र कक्षा ६ देखि १२ सम्म नेपाली माध्यममा अध्यापन गराइने गरिन्छ । अनुशासन र आचरणसहित प्रयोगात्मक शिक्षामा ध्यान दिँदै आएको यस विद्यालयमा ३ हजार ४ सय हाराहारी विद्यार्थी अध्ययनरत रहेका थिए, कक्षा ११ को दाखिलापछि यो संख्या ह्वात्तै बढ्ने स्थानीय सर्वेक्षण भएको बुझिन्छ । सामुदायिक विद्यालयमाझ पृथक श्री पञ्चायत माविमा अंग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन हुँदै आएको छ । मण्टेश्वरी आधारित शिशु कक्षादेखि कक्षा ४ सम्म बेग्लै भवन र यसको सञ्चालन व्यवस्थापनका लागि प्रशासनिक संरचना छ ।

कक्षा ११ को प्रवेश परीक्षा असार २४ गते सोमबार विहान ८ बजेदेखि हुने कार्यतालिका रहेको श्री पञ्चायत माविमा यसपटक कक्षा ११ र १२ लाई बिहानीसत्रमा र सोभन्दा कनिष्टलाई दिउँसोसत्रमा सञ्चालनमा ल्याइने सोच रहेको १ नं. वडाध्यक्षसमेत रहनुभएका विव्यस सदस्य भीमकुमार राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्