‘बोक्सीको घर’का कलाकारहरु दमकमा दर्शकहरुसँगै

दमक । झापाको दमकमा रहेको डिम्यास हलमा नेपाली चलचित्र ‘बोक्सीको घर’का टिमहरु आज सोमबार दर्शकहरुसँग प्रत्यक्ष भेट्न दमक आएका छन् ।

चलचित्रकी मुख्य कलाकार तथा निर्माता केकी अधिकारी, लेखक तथा निर्देशक सुलक्षण भारती र कलाकार सुपला सापकोटा पूर्वको विभिन्न हलहरुमा दर्शकहरु सँग भेट्ने क्रममा दमक आएका हुन् ।

चलचित्र ‘बोक्सीको घर’ यतिबेला देशभरका हलमा सफलताका साथ प्रदर्शन भइरहेको छ । लेखन तथा निर्देशन भारतीले चलचित्रमा समाजमा महिलालाई कसरी बोक्सीको आरोप लगाइन्छ र कसरी समाजमै रहेका व्यक्तिहरुबाट यातना दिइन्छ भन्ने कथालाई प्रस्तुत गरिएको छ ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रमा केकी अधिकारी, सुपला सापकोटा, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायत कलाकारको अभिनय छ ।

बद्री अधिकारी निर्माता रहेको चलचित्रमा राज घिमिरे कार्यकारी निर्माताका रुपमा छन् । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायाङ्कन र लोकेश बज्राचार्यको सम्पादन छ । टि फल्कस फिल्मसले चलचित्रलाई वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्