सुर्यदर्शन सहकारी संस्थाद्धारा नयाँ भवनबाट सेवा शुभारम्भ

दमक, २४ फागुन – झापाको दमक–६ बजार लाईनमा सञ्चालनमा आएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले बुधबारदेखि नयाँस्थानबाट सेवा शुभारम्भ गरेको छ ।

सो सहकारी संस्थाले नवनिर्मित कार्यालय भवनमा बधबार एक कार्यक्रमबीच राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष तथा संविधानसभाकी सदस्य ओमदेवी मल्लले उद्घाटन गर्नुभएको छ । सो क्रममा प्रमुख अतिथि समेत रहनुभएकी राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष मल्लले सहकारी क्षेत्रलाई जोगाउन स्वंय सहकारीका सञ्चालकहरुनै सजग हुनुपर्ने बताउनुभएको छ ।

उदघाटन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष मल्लले थोरै सहकारीहरुमा आएको समस्यालाई लिएर धेरै सहकारी बदनाम हुने अवस्था आउनु सहकारी अभियानका लागि दुखद भएको उल्लेख गर्नुभयो ।

संस्थाका अध्यक्ष टिकाराज सापकोटाको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँले सहकारी संस्थाहरुले आफना शेयर सदस्यहरुप्रति उत्तरदायी भुमिका निर्वाह गर्नुपर्ने बताइन । उनले स्थानीय सरकारले सहकारी र सहकारीका बचतकर्ताहरु दुवैप्रति समान दृष्टिकोण राखेर अघि बढिरहेको भन्दै यो क्षेत्रका समस्या समाधानमा इमान्दार बन्नुपर्ने धारणा राखिन ।

दमकमा १४ बर्ष अघि स्थापना भएको सुर्यदर्शन सहकारीले यसअघिनै आफनै भवनबाट कारोबार गरिआएको भएपनि शेयर सदस्यहरुको चाप व्यवस्थापन र आर्थिक कारोबारमा सहजताका लागि थप सुविधा सम्पन्न आफनै भवनबाट कारोबार शुरु गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण भण्डारीले जानकारी दिए । उनले नगरपालिका रोडमा पर्ने नमुना बजारबाट उत्तरतर्फ रहेको सो भवनबाट आजैदेखि संस्थाको सम्पूर्ण कारोबार शुरु गरिएको बताए । अलग अलग प्रयोजनका तीन वटा मिटिङ हलसहितको सुविधा सम्पन्न भवन संस्थाको बलियो जग भएको संस्थाका अध्यक्ष सापकोटाले बताए ।

कार्यक्रममा जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष प्रेमप्राद कोइराला, मेची सहकारी संस्थाका प्रमुख खोमप्रसाद बगाले, चुढामाणी ओझा, बुद्धिसागर बराल, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई लगायतको उपस्थिति थियो । कार्यक्रममा संस्थाका सचिव कमल नेपालले सञ्चालन गर्नुभएको र व्यवस्थापक राजकुमार खडकाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्