गौरादह जेसीजको संविधान केन्द्रित हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
गौरादह । राष्ट्रिय पर्व संविधान दिवस २०८३ को अवसरमा गौरादह जेसीजको आयोजनामा माध्यमिक विद्यालयस्तरीय ‘संविधान केन्द्रित हाजिरीजवाफ प्रतियोगिता’ सम्पन्न भएको छ।
गौरादह–१ स्थित राधाकृष्ण मन्दिरको सभाहलमा आयोजित प्रतियोगिताको उद्देश्य विद्यार्थीमा नेपालको संविधान, कानुन, नागरिक अधिकार तथा लोकतान्त्रिक मूल्यमान्यताबारे ज्ञान र सचेतना अभिवृद्धि गर्नु रहेको गौरादह जेसीज वर्ष २०२६ का अध्यक्ष धुव्रचन्द्र अधिकारीले बताउनु भएको छ ।
प्रतियोगितामा गौरादहसहित छिमेकी पालिकाका विभिन्न माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले संविधान तथा समसामयिक विषयमा उत्साहजनक बौद्धिक प्रस्तुति दिएका थिए।
प्रतियोगितामा गौरादह–१ को माउण्ट एभरेष्ट माध्यमिक विद्यालय प्रथम, गौरादह–८ को प्रगति माध्यमिक विद्यालय द्वितीय, गौरीगञ्ज–६ को मुनलाइट एकेडेमी तृतीय र गौरीगञ्ज–३ को ज्ञानोदय माध्यमिक विद्यालय चौथो भएका छन्।
कार्यक्रममा संविधानसभा सदस्य दीपक कार्की प्रमुख अतिथि, गौरादह नगरपालिका नगर प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष नगेन्द्र भण्डारी विशिष्ट अतिथि र नेपाल सरकारका पूर्व उपसचिव तीर्थराज खनाललगायतको उपस्थिति रहेको थियो। विभिन्न विद्यालयका शिक्षक, अग्रज जेसीज सदस्य तथा गौरादह जेसीजका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो।
कार्यक्रम संयोजक जेसी शितल अधिकारीको संयोजनमा सम्पन्न प्रतियोगितामा सहजकर्ताका रूपमा जेसी खड्ग थापाले भूमिका निर्वाह गरेका थिए। प्रतियोगिताका पुरस्कार आमा डेन्टल, दमक, पूर्व अध्यक्ष जेसी हेमचन्द्र घिमिरे ‘राजु’ तथा श्री अग्नि मनमाया प्रतिष्ठानका संरक्षक गोपाल खरेलले सहयोग गरेका थिए।
गौरादह जेसीजले युवा नेतृत्व विकास, सामाजिक सचेतना तथा समाज रूपान्तरणमा योगदान पुर्याउने उद्देश्यले यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने गौरादह जेसीज वर्ष २०२६ का अध्यक्ष धुव्रचन्द्र अधिकारीले बताउनु भएको छ ।



