गौरादहमा भव्य रुपमा सुरु भयो श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ
झापा – नेपाल मानव धर्म सेवा समिति गौरादह शाखाको आयोजनामा निर्माणाधीन सत्सङ भवनलाई पूर्णता दिने उद्देश्यसहित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको कलश यात्रा तथा उद्घाटन कार्यक्रम आज भव्य रुपमा सम्पन्न भएको छ।
२०८३ साल बैशाख ०९ गतेदेखि सुरु भएको उक्त महायज्ञ बैशाख १६ गतेसम्म सञ्चालन हुने जनाइएको छ। उद्घाटन समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका सन्त–महात्मा तथा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम नेपाल मानव धर्म सेवा समिति मेची क्षेत्रकी प्रमुख सन्त सुवर्णा बाइजीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले धार्मिक तथा सामाजिक कार्यले समाजमा सकारात्मक ऊर्जा र एकता प्रवर्द्धन गर्ने उल्लेख गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले आध्यात्मिक चेतना अभिवृद्धि गर्नुका साथै समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।
महायज्ञको अवसरमा प्रमुख अतिथि कार्कीलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो। आयोजकका अनुसार महायज्ञ अवधिभर दैनिक धार्मिक प्रवचन, भजन–कीर्तन तथा विभिन्न आध्यात्मिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्।



