ज्योति माध्यमिक विद्यालयको ५९औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न

कमल  झापाको कमल गाउँपालिका-२ भुत्लुङस्थित ज्योति माध्यमिक विद्यालयले ५९औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर विद्यालयले प्रकाशन गरेको स्मारिकाको बिमोचन गर्नुका साथै विभिन्न क्षेत्रमा विद्यालयलाई योगदान गर्नुहुने दानवीर दाताहरु, विद्यार्थीहरुलाई अभिनन्दन र सम्मान गरिएको छ ।

सोमबार, विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले ज्योति स्मारिकाको विमोचन गर्नुका साथै दानवीर र विद्यार्थीहरुलाई सम्मान गर्नुभएको थियो ।

सोहि अवसरमा शैक्षिक सत्र २०८१ को एसईईमा उत्कृष्ट नतिजा ल्याउने १८ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो र त्यस्तै स्मारिका प्रकाशनका लागी १० हजार रुपैया भन्दा माथि सहयोग गर्ने दाताहरुलाई समेत प्रंशसा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा स्मारिका सम्पादक समीरबाबु कट्टेल, स्मारिका सम्पादनको दौडानमा योगदान गर्ने सहायक प्रधानाध्यापक नारायण बस्नेत, विद्यालयका उत्कृष्ट विभाग प्रमुख एवं शिक्षक अर्जुन घिमिरे, उत्कृष्ट शिक्षक प्रकाश धिमाललाई मुख्यमन्त्री कार्कीले सम्मान गर्नुभएको थियो ।

त्यस्तै सम्मानित हुनेहरुमा कमल गाउँपालिकाका नृत्य प्रशिक्षकद्वय प्रनिशा नेपाल, स्मृति सुब्बा समेत सम्मानित भएका थिए । त्यस्तै, कमल गाउँपालिका वडा नम्बर-२ को तर्फबाट शिक्षक वन्दना थापा मगर सम्मानित भएका थिए । साथै सोही कार्यक्रममा भुपू सैनिक संघ क्षेत्र नं ५ झापाले ज्योति माविका विद्यार्थीहरुका लागि न्यानो कपडा एवं खेल सामग्री हस्तान्तरण गरेको थियो । संघका कार्यसमिति सदस्य एवं ज्योति माविका अध्यक्ष तिलक खड्कालाई उनको सामाजिक कार्यको प्रसंशा गर्दै संघले सम्मानसमेत गरेको थियो ।

स्मारिकाको साहित्यकार दीपक सुवेदीले समीक्षात्मक टिप्पणी गरेका थिए भने स्मारिकाका सम्पादक समिर बाबु कट्टेलले स्मारिकाको विषयमा बोलेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नगेन्द्र बस्नेतले विद्यालयको तर्फबाट तयार पारिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साथै उक्त कार्यक्रममा राष्ट्रिय गायकद्वय श्रीकृष्ण लुइँटेल (बोके दारी) एवंम् गायक सिद्धान्त खड्का आफ्नो विशेष प्रस्तुति दिनुभएको थियो । त्यस्तै विद्यालयको तर्फबाट शिक्षिकाहरुले सामूहिक नृत्य प्रस्तुत गरेका थिए भने विद्यार्थीहरुका विभिन्न सांस्कृतिक नृत्य समेत रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सहप्रधानाध्यापक नारायण बस्नेतले स्वागत मन्तव्य राखेका थिए । त्यस्तैगरी कार्यक्रम रमा लामिछाने, समीरबाबु कट्टेल र अनुप वस्तीले संयुक्त रुपमा सञ्चालन गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्