नेकपा एमाले झापाद्धारा मदनआश्रित स्मृति दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
दमक । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) झापाद्धारा ३१ औ मदनआश्रित स्मृति दिवसका अवसरमा बिहिबार झापाको कमल गाउँपालिका-५ स्थित रोड स्टार पार्टी प्यालेस पाडाजुंगीमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमाले झापा जिल्ला कमिटीको आयोजना, नेकपा एमाले कमल गाउँ कमिटीको ब्यवस्थापन र नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा एमाले जिल्ला कमिटी झापाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तदानमा कार्यक्रममा १३ जना महिला र १११ जना पुरुष गरी जम्मा १२४ जनाले गरेको खुल्ला रक्तदानमा १२४ पिन्ट रगत संकलन भएको कमल गाउँ कमिटी अध्यक्ष हरि ढकालले बताउनुभयो ।
नेकपा एमालेले हरेक वर्ष जेठ ३ गतेका दिन विभिन्न कार्यक्रम गरेर मदन आश्रित स्मृति दिवस मनाउँदै आएको छ ।
कार्यक्रम नेकपा एमाले जिल्ला कमिटी झापाका अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा भएको थियो । त्यस्तै कार्यक्रममा एमाले पोलिट ब्युरो सदस्य तथा झापा इन्चार्ज विशाल भट्टराई, केन्द्रिय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटीका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।
रक्तदान कार्यक्रममा सहभागीहरुलाई प्रंशसापत्र समेत वितरण गरिएको थियो ।