रातभरि उद्धारमा खटिँदै, विदेशी मिडियामा आएका गलत भाष्यको खण्डन
सागर ढकाल ।
रातभरि नसुतिकन खोला किनारमा जीवन उद्धारको काममा खटिएका छौँ। १८ दिनभन्दा बढी भइसक्यो, सुत्ने समय बढीमा २–४ घण्टा मात्र हुन्छ। शरीरमा घाउ र बिबिरा आएका छन्, खुट्टा लेदोले खाएर घाउ भएको छ। थकान र पीडाका बाबजुद फिल्ड छोड्न सकेका छैनौँ, किनकि भित्र जीवित ६ जना भगवान् हुनुहुन्छ। सकेको धर्म गर्ने हो भन्ने भावनाले हामीलाई निरन्तर काम गर्ने शक्ति दिएको छ।
विडम्बना, यस्तो कठिन परिस्थितिमा उद्धारको काम गरिरहँदा पहिले स्वदेशीहरूबाट र अहिले विदेशी मिडियाबाट समेत गलत भाष्य निर्माण गर्न खोजिएको देखिन्छ। इन्टरनेटमा उपलब्ध रिपोर्टहरूलाई तोडमोड गरेर देश विपत्मा भएका बेला नकारात्मकता फैलाउनु उचित समय होइन। यसको जवाफ म जहाँ आएर दिनुपर्ने हो, तयार छु।
मलाई किन अमेरिकाको मात्र एजेन्ट भनिन्छ? सकिन्छ भने चिनियाँ एजेन्ट पनि भनिदिनुस्। चीनको मन्त्रालयअन्तर्गत बसेर काम गरेको छु, त्यसका रिपोर्टहरू अनलाइनमै छन्। किर्गिस्तानमा काम गरेको छु, रुसी एजेन्ट भनिदिनुस्। भारतमा ६ महिना योग–ध्यान सिकेको छु। भारतले नेपालभरिका २५ जना इन्जिनियरलाई दिने अवार्डसमेत दिएको छ, भारतीय एजेन्ट भनिदिनुस्। अफ्रिकादेखि युरोप र एसियाका विभिन्न देशमा गरेका कामका रिपोर्टहरू आवश्यक परे बुझाउन तयार छु।
तर यस्तो जोखिम मोलेर टेन्ट र फिल्डमा, खोला किनारमा पानीमा भिज्दै विशुद्ध मानव धर्म पालन गरिरहेका बेला विदेशी मिडियालाई मानवता देखाउन अनुरोध गर्दछु। खुट्टा तान्नै परे पनि यो उद्धार सकिएपछि तानिदिनुस्। यस्तो दैवी विपत्तिको समयमा झन् दुःख दिनुभन्दा सकिन्छ भने सहयोग गरिदिनुस्, सक्नुहुन्न भने पनि नकारात्मकता नफैलाइदिनुहुन हार्दिक अनुरोध गर्दछु। हाम्रो सम्पूर्ण समय नकारात्मकतासँग होइन, दैवी प्रकोपसँग लड्न चाहन्छौँ।
म हरेक कुरामा सकारात्मकता खोज्छु। मेरा प्रतिस्पर्धी कसैलाई पनि एक शब्द गाली गर्दिनँ, चाहे ती प्रदीप ज्ञवाली हुन् वा चन्द्र भण्डारी। मेरा प्रतिस्पर्धी शेरबहादुरलाई समेत उहाँकै गाउँमा, उहाँकै समर्थकहरूका बीचमा लाइनमा बसेर मालाले स्वागत गर्ने मान्छे हुँ। नकारात्मकता र गाली केही समय हिट होला, तर दीर्घकालीन शान्ति र विकासका लागि सकारात्मकता नै अचुक अस्त्र हो भन्नेमा म दृढ विश्वास गर्छु।
जीवनभरि सात्त्विक जीवनशैली अपनाएको छु। सात्त्विक नै सोच्छु, सकारात्मकता सोच्छु र त्यही सकारात्मकता फैलाइदिन सबैमा अनुरोध गर्दछु।
सम्भवतः हामीले ६ जनालाई जीवित उद्धार गर्न सक्यौँ भने यो विश्वलाई नै झकझक्याउने काम हुनेछ। योभन्दा ठूलो धर्म जीवनमा अरू केही हुँदैन भन्ने विश्वासका साथ काम गरेका छौँ। ६ जनालाई जीवित उद्धार गर्न व्यग्र प्रतीक्षामा छौँ, प्रार्थना गरिरहेका छौँ।
हजुरहरूको भरपूर सहयोगको अपेक्षा गरेका छौँ। अरूले जे–जे भने पनि भगवान्रूपी जनताले निष्पक्ष न्याय गर्नेछन् भन्नेमा ढुक्क भएर काम गर्दै छु।



