प्रादेशिक आयुर्वेद अस्पतालमा पार्किङ अव्यवस्थित, सेवाग्राहीलाई सास्ती

कमल । झापाको कमल गाउँपालिका–६ गेउरियास्थित प्रादेशिक आयुर्वेद अस्पतालमा पार्किङ व्यवस्थापन प्रभावकारी हुन नसक्दा सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको छ।

अस्पतालमा उपचार तथा स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीले आफ्नो सवारीसाधन तोकिएको पार्किङ स्थलमा नराखी अस्पताल परिसर तथा अन्य स्थानमा पार्किङ गर्ने गरेका कारण समस्या हुने गरेको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालका सूचना अधिकारी टेकनाथ अर्यालका अनुसार सेवाग्राहीहरू हतारमा अस्पताल आउने र सवारीसाधन तोकिएको पार्किङ स्थलमा नलगी आफूलाई पायक पर्ने स्थानमा पार्किङ गरेर सेवातर्फ जाने गरेका छन्।

“सेवाग्राहीहरू आफ्नो सवारीसाधन पार्किङ स्थलमा लैजान मान्दैनन्,” सूचना अधिकारी अर्यालले भने, “हतारमा आउने र सवारीसाधन त्यहीँ पार्किङ गरेर आफ्नो कामतर्फ जाने गरेका कारण समस्या भएको हो।”

अस्पतालले आगामी पुसदेखि चौकीदारको व्यवस्थापन भएपछि सवारीसाधनलाई तोकिएको पार्किङ स्थलमै पार्किङ गराउने व्यवस्था मिलाउने जनाएको छ। त्यसपछि अस्पताल परिसरमा सवारीसाधन पार्किङको समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्