बागमती करिडोर विवादमा सांसद पाण्डेले दिए स्पष्टीकरण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले गोकर्णस्थित बागमती करिडोर विस्तारको काम नेपाली सेनासँगको समन्वयमै गरिएको बताएका छन्।
उनले जारी गरेको विज्ञप्तिअनुसार करिडोर विस्तारका क्रममा सम्बन्धित सेनाको टुकडीलाई जानकारी पुग्न केही मिनेट ढिलाइ हुँदा प्रारम्भिक असहज अवस्था सिर्जना भएको थियो। त्यसपछि नेपाली सेनाका प्रमुख सेनानीसँग छलफल र समन्वय गरी सेनाकै सहयोगमा काम सम्पन्न गरिएको उनको दाबी छ। उक्त कार्य काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा भएको पनि उनले उल्लेख गरेका छन्।
सांसद पाण्डेका अनुसार स्थानीयको मागअनुसार सम्बन्धित निकायसँग समन्वय गरेर डोजर प्रयोग गरी बाटो खोलिएको हो। बाहिर आएका भिडियो प्रारम्भिक समन्वय अभावको अवस्थाका मात्र भएको भन्दै उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा तथ्य नबुझी भ्रम फैलाउने तथा संस्थाबीच अनावश्यक विवाद सिर्जना नगर्न सबैसँग आग्रह गरेका छन्।



