एमाले–माओवादीबीच प्रदेश सरकार गठनमा सहमति
काठमाडौं, साउन ९ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा महत्वपूर्ण सहमति भएको छ।
दुवै दलले राजनीतिक स्थायित्व, सुशासन, विकास निर्माणलाई प्रभावकारी बनाउने तथा प्रदेश सभामा देखिएका बजेट निर्माण, बजेट विनियोजन र राजनीतिक प्रतिस्पर्धाका कारण उत्पन्न समस्यालाई समाधान गर्ने उद्देश्यले संयुक्त रूपमा प्रदेश सरकार गठन गर्ने निर्णय गरेका हुन्।
सहमतिअनुसार सातै प्रदेशमा दुई दलले सहकार्य गर्दै संयुक्त सरकार सञ्चालन गर्नेछन्। प्रदेश सरकारको नेतृत्व बाँडफाँट पनि टुंग्याइएको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व माओवादी केन्द्रले गर्ने सहमति भएको छ। यस्तै, मधेश र गण्डकी प्रदेशमा सरकार गठनका लागि प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरी नेतृत्व र सहभागिताको स्वरूप तय गरिने उल्लेख गरिएको छ।
सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन्। यो सहमतिले प्रदेश सरकार गठनको प्रक्रिया सहज बनाउने, राजनीतिक सहकार्यलाई थप मजबुत बनाउने तथा प्रदेशमा स्थायित्व कायम गरी विकास निर्माणका कामलाई गति दिने अपेक्षा गरिएको छ। उक्त सहमतिपत्र साउन ९ गते सार्वजनिक गरिएको हो।



