दमक इलाका प्रहरी कार्यालयबाट लुटिएको गोली केराबारीमा भेटियो

२५ असोज, विराटनगर । गत २४ भदौमा जेनजी आन्दोलनका क्रमामा प्रहरी कार्यालयबाट लुटिएको गोली केराबारीमा फेला परेको छ ।

झापाको दमकमा रहेको इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको ५५ राउण्ड एसएलआर राइफलको गोली झापाको कमल गाउँपालिका–७ रङ्गपुर स्थित केराबारीमा फेला परेको हो ।

स्थानीय गङ्गाप्रसाद पाण्डेले केराको पात काट्ने क्रममा भेटिएको सेतो बोरामा गोली भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार शनिबार बिहान केराबारीमा गोली बरामद भएको हो । उनका अनुसार बरामद भएको गोली इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको थियो ।

जेनजी आन्दोलनका क्रममा २४ भदौंमा अराजक समूहले इलाका प्रहरी कार्यालय दमकबाट २० नाल हतियार लुटेको थियो । कार्यालयमा रहेको ५ हजार राउण्ड बढी गोली पनि हराएको थियो ।

लुटिएका हतियार र गोली फिर्ता गर्न प्रहरीले अपिल गरेपनि फिर्ता भएको छैन ।

प्रतिक्रिया दिनुहोस्