कमल गाउँपालिकामा पोषण तालिम/अभिमुखिकरण कार्यक्रम सुरु
कमल – कमल गाउँपालिकामा राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत तालिम/अभिमुखिकरण कार्यक्रम आजदेखि औपचारिक रूपमा सुरु भएको छ। गाउँपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रम गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको प्रमुख उपस्थितिमा उद्घाटन गरिएको छ।
बालबालिकाको पोषण अवस्था सुधार, कुपोषण न्यूनीकरण, तथा समग्र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, पोषणसँग सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको छ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष तिवारीले पोषणलाई मानव विकासको आधारभूत स्तम्भको रूपमा व्याख्या गर्दै स्थानीय तहबाट सञ्चालन हुने यस्ता कार्यक्रमहरूले दिगो स्वास्थ्य सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले विशेषगरी बालबालिका, गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्थालाई प्राथमिकतामा राख्दै समुदायसम्म प्रभावकारी सेवा पु¥याउनुपर्नेमा जोड दिनुभयो।
यस तालिम/अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालय झापा का जनस्वास्थ्य निरीक्षक विष्वनाथ श्रेष्ठ ले प्रशिक्षक तथा सहजकर्ताको रूपमा सहजीकरण गरिरहनु भएको छ। उहाँले कुपोषणको पहिचान, वर्गीकरण, उपचार व्यवस्थापन, पोषण परामर्श, अभिलेख व्यवस्थापन तथा रिपोर्टिङ प्रणाली सम्बन्धी महत्वपूर्ण विषयहरूमा सहभागीहरूलाई व्यवहारिक ज्ञान प्रदान गरिरहनु भएको छ।
कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख द्वारा गरिएको हो। कार्यक्रम भोलिसम्म सञ्चालन हुने जनाइएको छ।
यसैबीच, प्राप्त जानकारी अनुसार बैशाख १५ गतेदेखि ३० गतेसम्म कमल गाउँपालिकाभर समुदायस्तरमा पोषण लेखाजोखा (Nutrition Assessment/Screening) कार्यक्रम सञ्चालन गरिनेछ। उक्त अभियान अन्तर्गत घरदैलो तथा स्वास्थ्य संस्थामार्फत बालबालिकाको तौल, उचाइ, उमेरअनुसारको पोषण अवस्था मूल्याङ्कन गरी कुपोषणको जोखिममा रहेका बालबालिकाको पहिचान गरिनेछ। साथै आवश्यक परामर्श, उपचार तथा अनुगमन प्रक्रिया अगाडि बढाइने स्वास्थ्य शाखाले जनाएको छ।
कार्यक्रम कमल गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भइरहेको छ, जसले आगामी दिनहरूमा पोषण सुधार अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।



