नगरप्रमुखको अन्तर्वार्ताले चर्किएको लालीगुराँसको राजनीतिक बहस
असार ३०, तेह्रथुम – तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकामा हाल सत्तारूढ नेपाली कांग्रेसका नगरप्रमुख अर्जुन माबुहांङको दोस्रो कार्यकाल विवाद र असन्तोषको घेरामा परेको देखिन्छ। पहिलो कार्यकालमा सडक सञ्जाल विस्तार र चोँलुङ पार्कजस्ता योजनाबाट लोकप्रिय बनेका माबुहांङ, दोस्रो कार्यकालको मध्यसम्म आइपुग्दा जनअपेक्षाभन्दा फरक दिशातर्फ उन्मुख भएको आरोप खेपिरहेका छन्।
किसान र व्यापारीप्रति असर पार्ने निर्णय
नगर कार्यपालिकाले रासायनिक मलको बिक्री वितरणमा रोक लगाएपछि किसानहरू समस्यामा परेका छन्। मकै गोडमेल र काउली लगाउने मुख्य समयमा मल अभाव हुँदा किसानहरूलाई वैकल्पिक बजारबाट चर्को मूल्यमा मल किन्न बाध्य हुनुपर्यो। यसको असर केवल कृषिमा मात्र नभई बसन्तपुर र लसुनेजस्ता बजारहरूको व्यापारमा समेत परेको छ। व्यापारीहरूका अनुसार किसानहरूले मल किनेरै अन्य सामग्रीहरू पनि बाहिरी बजारबाट ल्याउने गर्दा स्थानीय बजारमा आर्थिक मन्दी आएको हो। स्थानीय व्यापारीहरू नगर सरकारमाथि कर असुलीमा मात्र ध्यान दिएर व्यापार क्षेत्रलाई धराशायी बनाउन खोजेको आरोप लगाउँछन्।
शैक्षिक क्षेत्रमा असन्तोष
शिक्षा क्षेत्रमा नगर सरकारको पछिल्लो निर्णय – केही विद्यालयमा कक्षा ११ को भर्ना रोक्ने निर्णय – ले पनि जनविरोध निम्त्याएको छ। नगरका विभिन्न वडामा विद्यालय गाभ्ने र पुनर्संरचना गर्ने नगरप्रमुखको सक्रियताबीच मंगलबारेस्थित सिंहदेवी माविमा कक्षा ११ को भर्ना रोकिएको छ, जसले अभिभावक, शिक्षक र राजनीतिक कार्यकर्ता सबैलाई आक्रोशित बनाएको छ।
गत शनिबार विद्यालयद्वारा आयोजित सरोकारवालाको भेलामा सबै दलका प्रतिनिधिहरूले एक स्वरमा नगर सरकारको निर्णय सच्याउन माग गरे। नेकपा माओवादी केन्द्र लालीगुराँस नगर समितिले अध्यक्ष निरज खड्काको नेतृत्वमा एक ज्ञापनपत्र समेत बुझाएको थियो। प्रमुखसँग समय नमिलेकाले उपप्रमुखलाई ज्ञापनपत्र बुझाइएको थियो।
बस किन्ने निर्णयप्रति शंका
नगरप्रमुखले आफ्नो कार्यकालमा चार–पाँचवटा स्कुल बस किन्ने निष्कर्षमा पुगेका छन्। तर, नगरका अधिकतर क्षेत्रहरूमा पक्की सडकको अभाव र ग्रामिण अवस्थाका कारण स्कुल बसको प्रभावकारी प्रयोगमा प्रश्न उठेको छ। स्थानीय बुद्धिजीवीहरूले विद्यालयलाई वायुसेवा निगमसरह बनाउने प्रयास हो भनी आलोचना गरेका छन्। माओवादी केन्द्र अध्यक्ष निरज खड्काले मर्मत र इन्धन खर्चको बोझ विद्यालय र अन्ततः जनतामाथि पर्ने भएकाले यसको उद्देश्य आन्तरिक स्रोत जुटाउने नाममा कर बढाउने नीतिमा आधारित रहेको बताए।
नगरप्रमुखको अन्तर्वार्ता र जनआक्रोश
नेपाली कांग्रेसका नगरप्रमुख अर्जुन माबुहांङको एक स्थानीय मिडियालाई दिएको अन्तर्वार्ताले स्थिति झनै चर्काएको छ। अन्तर्वार्तामा आन्दोलन र मुद्धा–मामिलाबाट समाधान खोज्ने शैलीप्रति नगरप्रमुखको भनाइले स्थानीयहरू झनै आक्रोशित भएका छन्। मंगलबारेका समाजसेवी बिरेन्द्र लकान्द्रीका अनुसार, “यो नगरप्रमुखको घमण्ड हो, हामी यसलाई जनमतको अपमानको रूपमा लिन्छौं।” स्थानीय युवा बिपिन ख्वाहाङले पनि यस्तै अभिव्यक्ति दिएका छन्।
लालीगुराँस नगरपालिकामा हाल जनविरोधको लहर तीव्र हुँदै गएको देखिन्छ। नगर प्रमुखको निर्णय र अभिव्यक्तिप्रति जनआक्रोश बढिरहेको छ भने प्रतिपक्षी शक्ति नेकपा माओवादी केन्द्र जनतामाझ बढी सक्रिय देखिन्छ। अब नगर सरकार जनभावनाको सम्मान गर्दै समावेशी र यथार्थपरक नीति तर्फ अग्रसर हुन्छ या अझ विवादमा फस्छ, त्यो समयले देखाउनेछ।




