झापाका हात्तीपीडितलाई एक करोड ९० लाख राहत

५ असार, झापा । झापाका हात्तीपीडितलाई एक करोड ९० लाख भन्दा बढी राहत उपलब्ध गराइएको छ । चालू आर्थिक वर्ष २०८१÷०८२ को हालसम्म डिभिजन वन कार्यालय झापा र निर्देशनालयबाट र एक करोड ९० लाख एक हजार नौ सय ९३ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालय झापाका पशु चिकित्सक डा. सोनाम भलले जानकारी दिनुभयो ।

वन कार्यालय झापाले पाँच सय १० हात्तीपीडित घरपरिवारलाई ६९ लाख ९३ हजार पाँच सय ६५ र निर्देशनालयले ७३ हात्तीपीडित घरपरिवारलाई एक करोड २० लाख आठ हजार चार सय २८ राहत उपलब्ध गराएको उहाँले बताउनुभयो ।

निर्देशनालयले हात्तीको आक्रमणबाट ज्यान गुमाएका १० जना मृतकको परिवारलाई प्रतिपरिवार १० लाखका दरले रू एक करोड, हात्तीको आक्रमणमा परी घाइते भएका १० जनालाई रू ११ लाख १८ हजार छ सय २८, हात्तीले २२ वटा घरको क्षति पु¥याए वापत चार लाख २० हजार, भण्डारण गरिएको अन्नमा क्षति (१८ वटा) पु¥याए वापत एक लाख ८० हजार, अन्नबालीमा क्षति (२९ वटा) पु¥याएवापत दुई लाख ७९ हजार आठ सय र एउटा पशुधनको क्षतिपूर्तिवापत १० हजार पीडितलाई राहत उपलब्ध गराएको डा. भलले जानकारी दिनुभयो ।

जिल्लामा पाँच सय २५ जना वन्यजन्तु पीडित अझै राहतको पर्खाइमा छन् । उनीहरुलाई ८७ लाख २४ हजार पाँच सय ३२ राहत रकम वितरण गर्न बाँकी रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

हात्तीको आक्रमणबाट घाइते भएका छ जना मध्ये चार जनालाई खर्चका लागि फाइल निर्देशनालय पठाइएको छ ।

मेचीनगर–३ की कोपिला लिम्बू, शिवसताक्षी–१ का प्रदीप पासवान, दमक–३ का अविनारायण खत्री र मेचीनगर–१२ की भीममाया राईको फाइल निर्देशनालय पठाइएको छ भने दमक–३ की योगिता दाहाल र रमेश गौतमको फाइल पठाउन बाँकी रहेको डा.भलले बताउनुभयो ।

हात्तीको आक्रमणबाट घाइते भएकालाई बढीमा दुई लाख दिने , अंगभंग भएकालाई पाँच लाख राहत र घाइतेको उपचारमा ठूलो रकम खर्च हुँदा सरकारीतवरबाट प्रदान गरिने उपचार खर्च कम हुने उहाँ बताउनुहुन्छ ।

उज्यालो खबर बाट

प्रतिक्रिया दिनुहोस्