प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबिच बालुवाटारमा भेट

काठमाडौं – पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेकी छन्।

मंगलबार साँझ प्रधानमन्त्री ओलीलाई भेट्न पूर्व राष्ट्रपति भण्डारी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी थिइन्।

पूर्व राष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्कने संकेत गरिरहेका बेला एमाले अध्यक्ष समेत रहेका ओलीसँग भेटघाट गरेकी हुन्।

उनीहरूबिच लामो समयदेखि भेटघाट भएको थिएन। पूर्व राष्ट्रपति भण्डारीले मुलुकको पछिल्लो राजनीतिबारे छलफल गरेको बुझिएको छ।

पूर्व राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटघाट भए नभएको बारेमा भण्डारीका स्वकीय सचिव राजकुमार राईले अनभिज्ञता प्रकट गरे।

‘आज म चाँडै निस्किए त्यही भएर यो विषय जानकारी हुन सकेन’, स्वकीय सचिव राईले भने।

पार्टी राजनीतिमा सक्रिय हुने चाहना राखेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष ओलीलाई बिस्तारै चुनौती दिन थालेकी छन्।

एमालेका पादधिकारीहरुले पनि भण्डारीलाई पार्टीमा ल्याउन चाहिरहेका छन्। चीन भ्रमणबाट फर्केपछि कोसी प्रदेश पुगेकी भण्डारीले एमाले नेता–कार्यकर्ताहरूसँग भेट गरेकी थिइन्।

एमाले नेताको हैसियतमा भण्डारी चीन भ्रमणमा पुगेकी थिइन्। चीनमा उनले एमाले नेताको हैसियतमै आफ्ना धारणा राखेकी थिइन्।

उनले चिनियाँ नेताहरूसँग मदन भण्डारीको जनताको बहुदलीय जनवादबारे धारणा राखेकी थिइन्। भण्डारीले पूर्वी नेपालका जिल्ला पुगेर नेता–कार्यकर्तासँग भेट गरिरहेका बेला यता काठमाडौंमा ओलीले तीव्र असन्तुष्टि पोखेका थिए।

ओलीले पार्टी महाधिवेशन आइनसकेको र पार्टीबाहिरबाट ढुंगा नहान्न पनि नेता–कार्यकर्तालाई चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस्