सानो लक्ष्य, ठूलो मिहिनेत : नेपालद्वारा स्कटल्यान्ड २ विकेटले पराजित
ग्लास्गो, स्कटल्यान्ड — नेपालले तीनदेशीय ट्वान्टी–२० शृंखलामा मंगलबार स्कटल्यान्डलाई ‘लो स्कोरिङ’ खेलमा २ विकेटले पराजित गरेको छ । नेपालले ९८ रनको झिनो लक्ष्य ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा १ बलअगाडि पूरा गरेको हो ।
अघिल्लो दिनको तुलनामा विकेट ब्याटिङका लागि निकै कठिन बनेको थियो । नेपालले ७ चौका मात्र प्रहार गरेको थियो । स्कटल्यान्डले पनि ६ चौका र २ छक्कामात्र प्रहार गर्न सकेको थियो । सानो लक्ष्यमा पुग्न नेपालले निकै संघर्ष गर्नुपरेको थियो ।
सानो स्कोरको लक्ष्य लिएर आएको नेपालको पनि सुरुआत राम्रो हुन सकेन । लगातार दुई चौका प्रहार गरेपछि लोकेश बम अर्को बलमा आउट भए । ९ रन बनाएका उनलाई ब्रान्डन म्याकमुलेनले आउट गरे । ज्याक जार्भिसले अनिल साहलाई ३ रनमा र साफ्यान सरिफले कप्तान रोहित पौडेललाई ७ रनमा बोल्ड गरे ।
लामो समय क्रिजमा टिकेका ओपनर कुशल भूर्तेलले ३५ बल खेली ४ चौकासहित ४० रन बनाए । उनलाई मार्क वाटले एलबीडब्लु आउट गरे । दीपेन्द्रसिंह ऐरी २१ बल खेली कुनै बाउन्ड्री प्रहार गर्न नसकी १४ रनमा आउट भए ।
माइकल लिस्कले सानदार रिटर्न क्याचमा बसिर अहमदलाई १३ रनमा आउट गरे । रुपेश सिंह ३ रनमै आउट भए । अन्तिम ओभरमा नेपाललाई विजयका लागि ४ रन चाहिन्थ्यो । किरण ठगुन्ना र करण केसीले पहिलो ३ बलमा १–१ रन लिएपछि स्कोर बराबरी भएको थियो । तर चौथो बलमा ठूलो सट खेल्ने क्रममा किरण १० रन बनाई आउट भए ।
नयाँ आएका ब्याटर सन्दीप लामिछानेले १ रन जोड्दै नेपाललाई जिताए । करण ३ रनमा अविजित रहे ।
यसअघि टस होपछि ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड १९.४ ओभरमा ९७ रनमा अलआउट भएको थियो । नेपालले सुरुआतदेखि नै उत्कृष्ट बलिङ गर्दै स्कटल्यान्डको ब्याटिङलाई पूर्ण नियन्त्रणमा लिएको थियो ।
दीपेन्द्रले खेलको पहिलो ओभरमै वाटलाई १ रनमा बोल्ड गरी नेपाललाई विकेट दिलाउन सुरु गरे । त्यसको अर्को ओभरमा करणले जर्ज मुन्सीलाई आउट गर्दै ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो १ सय विकेट पूरा गरे ।
लगत्तै अर्को बलमा अनावश्यक २ रनका लागि दौडिएका लिएम नेयलोरलाई लोकेश बमले १ रनमा रनआउट गरी खेलमा हावी भए । करणले फिन्ले म्याकक्राथलाई १२ रनमा आउट गरे । ललित राजववंशीले म्याकमुलेनलाई १० रनमा आउट गरेपछि स्कटल्यान्ड पाँचौं ओभरमा २४–५ को स्थितिमा पुगेको थियो ।
त्यसपछि खेलमा सन्दीप लामिछाने छाएका थिए । ४ विकेट लिएका उनी दुईपटक हृयाट्रिक नजिक पनि पुगे । सन्दीपले ४ ओभरमा १ मेडन राख्दै ११ रन खर्चेर ४ विकेट लिए । उनले स्कटल्यान्डका कप्तान म्याथ्यु क्रसलाई १५, क्रिस्टोफर म्याकब्रिजलाई शून्य, जार्भिसलाई शून्यमा बोल्ड गरे । सन्दीपले साफ्यान सरिफलाई ६ रनमा एलबीडब्लु आउट गरे ।
लिस्कले स्कटल्यान्डबाट सर्वाधिक ४६ रन बनाए । अन्तिम ओभरमा दीपेन्द्रको बलमा बोल्ड हुनुपूर्व उनले ४६ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्रले ३.४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए ।
नेपाल अघिल्लो दिन तीन सुपर ओभरको खेलमा नेदरल्यान्डसँग पराजित भएको थियो । आइतबार सुरु प्रतियोगिताको पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो । नेपालले बुधबार नेदरल्यान्ड्स र शुक्रबार स्कटल्यान्डसँग प्रतियोगिताका बाँकी दुई खेल खेल्नेछ ।
नेपाल र स्कटल्यान्डबीच ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो खेल हो । २०१३ मा यूएईमा भएको ट्वान्टी–२० विश्वकप छनोटमा स्कटल्यान्डले नेपाललाई ८ विकेटले पराजित गरेको थियो । तर नेपालले त्यतिखेर ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता पाइसकेको थिएन । त्यही छनोटमा स्कटल्यान्डलाई समूह चरणमा १ रनले पछाडि पार्दै नेपाल पहिलो पटक ट्वान्टी–२० विश्वकपमा पुगेको थियो ।



