ज्ञानेन्द्रमाथि अनुसन्धान गर्न पनि जाँचबुझ आयोग : गगनकुमार थापा
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसद्बाट तीनकुनेमा भएको हिंसात्मक घटनाको मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र शाह नै रहेको ठोकुवा गरे । आइतबार सिंहदरबारमा बसेको गणतन्त्र पक्षधर १२ दलको बैठकले पनि उक्त घटनाको मुख्य जिम्मेवार पूर्वराजा शाहलाई नै ठहर्याएको थियो । सत्ता पक्षबाट शाहलाई दोषी ठहर्याए पनि घटनाको चार दिन बितिसक्दासमेत सरकारले अनुसन्धानका लागि न्यायिक आयोग वा समिति बनाउनतर्फ चासो दिएको छैन । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा समेत आयोग गठनका विषयमा कुनै चर्चा भएन । यी र यस्तै विषयमा केन्द्रित भएर कांग्रेस महामन्त्री गगनकुमार थापासँग गरिएको वार्ता :
गणतन्त्र पक्षधर दलहरू र प्रधानमन्त्रीले सोमबार संसद्मा बोल्दै गर्दा तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्र शाह जिम्मेवार भएको भनियो । तर, उनलाई जिम्मेवार बनाउने कुरा राजनीतिक भाषणले मात्रै गर्ने कि कुनै आयोग वा समिति बनाएर छानबिन गर्नुपर्ने हो ?
त्यो दिन सडकमा जुन उत्पात मच्चाइयो, जुन खालको अराजनीतिक र अराजक घटना भए, यसका कर्ताहरूमाथि अनुसन्धान भइरहेको छ । प्रचलित कानुनको दायराभित्र यी विषय पर्ने हुँदा त्यहीँबाट निरूपण पनि हुने भयो । हामी सबैलाई थाहा छ, यो स्वतःस्फूर्त भएको होइन । यसका आह्वानकर्ता, योजनाकार पूर्वराजा हुनुहुन्छ । यही कुरा कांग्रेस, एमालेलगायत प्रत्येक राजनीतिक दलभित्रको सामूहिक निष्कर्ष पनि हो । हाम्रो यो निष्कर्ष राजनीतिक भयो, यसमा हामी प्रस्ट छौं तर यसलाई वैधानिकता दिन कुनै न कुनै बाटो चाहिन्छ । त्यसका लागि एउटा आयोग बनाउने हो भने सत्यतथ्यको छानबिन गर्छ । त्यसले नै हामीले निकालेको निष्कर्ष स्थापित हुन्छ । राज्यले अनुसन्धान र छानबिनको दायरामा ल्याउन सहज हुन्छ ।
सरकारले आयोग वा समिति बनाउने कुरामा चासो दिइरहेको देखिँदैन, कतै आफ्नो कमजोरी देखिन्छ कि भनेर बनाउन नचाहेको त होइन ?
हिजोको सर्वदलीय बैठकमा मैले प्रधानमन्त्रीको कुरा पनि सुनें । एमाले अध्यक्षका रूपमा पनि र संसद्मा बोल्दै गर्दा पनि फरक मत छैन । त्यसैले बुझाइमा हाम्रो समानता छ । यही बुझाइलाई वैधानिकताको जाँच गर्नका लागि त्यसै बोलेर मात्रै हुँदैन । आयोग नबनाउने हो भने विकल्प के त ? प्रहरीले अनुसन्धान गर्छ ? कि त वैकल्पिक बाटो भन्नुपर्छ । कुनै आग्रह नराखी विश्वसनीयताका लागि पनि आयोग बनाउनुपर्छ भन्ने हो । जस्तो सरकारले पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो । तीनकुनेमा त्योभन्दा ठूलो घटना हुँदा आयोग नबन्ने र स्वतन्त्र छानबिन नहुने हो भने पूर्वराजालाई भोलिका पुस्ताले कसरी यस्तोसम्म गरेका थिए भनेर थाहा पाउने त ?
आयोग नबन्दा तत्कालै पूर्वराजालाई थप छाडा हुन प्रेरित गर्छ । अहिलेसम्म उनी एउटा सीमाभित्र बसेकाले हामी पनि एउटा सीमामा थियौं । उनले सीमा उल्लंघन गरे, हामीले त्यसमा धारणा मात्रै राख्यौं भने त सीमा उल्लंघन गरेको गर्यै गर्छन् । भविष्यमा फेरि छाडा हुने दुस्साहस गर्न सक्छन् । भविष्यमा पूर्वराजाले गणतन्त्र नेपालमा कुन खालको उत्पात मच्चाएका रहेछन् भन्ने कुराको दस्ताबेजीकरण गर्न र फेरि गणतन्त्रमाथि धावा बोल्न नदिनका लागि पनि आयोगको आवश्यकता छ ।
घटनामा सरकारकै पनि कमीकमजोरी देखियो, त्यो कमीकमजोरी पनि आउला र अप्ठ्यारोमा परिएला भनेर आयोग बनाउनबाट सरकार पन्छिन खोजेको त होइन ?
मलाई त्यो लाग्दैन । मैले प्रधानमन्त्री र गृहमन्त्रीको खुला छलफल र पार्टीभित्रको आन्तरिक छलफल हेर्दै गर्दा उहाँहरूमा आफूले गरेका राजनीतिक र प्रशासनिक निर्णयहरूप्रति सम्पूर्ण रूपमा विश्वास भएको म पाउँछु । खालि जुन तहमा जति छलफल हुनुपर्दथ्यो, त्यो नभएर पनि होला ।
घटनाका विभिन्न भिडियो हेर्दा सुरक्षाकर्मीले जहाँ एक्सन नलिनुपर्ने हो, त्यहाँ लिएको र जहाँ लिनुपर्ने हो, त्यहाँ एक्सन नगरेको जस्तो देखिन्छ । कीर्तिपुरका सविन महर्जन सडकमा हिँडिरहेका बेला गोली लागेको जस्तो देखिन्छ । यसको पनि छानबिन भए यथार्थ कुरा आउँथ्यो होला नि ?
म कुनै देखिएको वा देखाइएको दृश्यका आधारमा निष्कर्षमा पुग्न चाहन्न । न मसँग त्यो विज्ञता छ, न योग्यता छ । तर, बालकुमारी घटनामा त जाँचबुझ आयोग बनाएको अभ्यास छ भने यत्रो ठूलो घटना भइसकेपछि र अनेकन प्रश्न उठ्न थालेपछि झन् यसको आवश्यकता महसुस भएको छ । यसले केही फरक पार्दैन । साँच्चै कुनै कमीकमजोरी भएका छन् र अक्षम्य भएको रहेछ भने त्यो बाहिर आउनुपर्छ पनि ।
घटनालाई उत्तेजित बनाउने रवीन्द्र मिश्र र धवलशमशेरलाई पक्राउ गरियो तर घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईं पक्राउ पर्न सकेका छैनन् । किन उनलाई समयमै पक्रन सकिएन ?
त्यो दिन जुन खालको अप्रिय स्थिति रह्यो, त्यो बेला तत्कालको प्राथमिकता जनधनको क्षति कसरी कम गर्ने भन्नेमा भयो होला । नागरिकलाई कसरी जोगाउने भन्ने रह्यो होला । त्यसैले सबै कोणबाट जाँचबुझ गरेपछि मात्रै एउटा निष्कर्षमा पुग्न सकिएला । मेरो आफ्नो बुझाइमा हेर्दा यसलाई मानवीय कमजोरी भने पनि हुन्छ । स्वयं प्रधानमन्त्रीले पनि यो हदको उत्पात मच्चाउलान् भन्ने अनुमान लगाउन नसकिएको भनेर स्विकार्नुभएको छ ।
एउटा घटनाविशेषको सन्दर्भमा कहाँनेर के भयो भन्ने कुरा जाँचबुझ गर्दा नै राम्रो होला भन्ने ठान्छु ।
प्रहरीलाई गाडीले पेल्दै निषेधाज्ञा तोड्न जुन खालको हर्कत त्यतिबेला प्रसार्इंले गरेका थिए, त्यसमा त उनलाई उम्कने मौका नै नदिनुपर्ने होइन र ?
त्यसकारणले गर्दा पनि यी सबै पक्षहरूका बारेमा आयोग बनेर छानबिन भयो भने हामीलाई एउटा निष्कर्षमा पुग्न सहज होला । गणतन्त्र घोषणा गर्दैगर्दा कुनै खालको प्रतिशोध साध्ने काम गरेनौं । पूर्वराष्ट्राध्यक्षको हैसियतमा घुमफिर गर्न र विचार राख्न कुनै अवरोध गरेनौं । त्यतिबेला हामीले चाहेको भए जे पनि गर्न सकिन्थ्यो । गणतन्त्र घोषणा गर्दैगर्दा एउटा चरित्र के प्रदर्शन गर्यौं भने अन्य देशमा गणतन्त्र स्थापना भएको जस्तो कुनै पनि खालको प्रतिशोध साधेनौं । त्यसपछि पनि पूर्व राष्ट्राध्यक्षको हैसियतमा सम्मानित नागरिकका रूपमा आफ्ना विचार राख्न देशभर घुम्न कहिले कुनै अवरोध गरेनौं । हामी दलहरू अलि पनि कमजोर देखिएका छौं । जतिखेर गणतन्त्र घोषणा गरेका थियौं, अभूतपूर्व रूपमा बलियो थियौं । त्यतिबेला त जे चाह्यो, त्यो गर्न सक्थ्यौं तर गरेनौं नि त । त्यसकारणले दुर्गा प्रसाईं व्यक्तिगत रूपमा जेसुकै होलान् तर यसमा पूर्वराजा संलग्न भइसकेपछि न्यूनतम मर्यादाको अपेक्षा गर्यौं । त्यो हाम्रो भूल थियो । दुर्गा प्रसाईंको भन्दा पनि पूर्वराजाबाट केही मर्यादा, केही संस्कारको अपेक्षा गर्नु हाम्रो भूल भयो भन्ने लाग्छ ।
पूर्वराजाको अभियान यतिमै सीमित हुने देखिँदैन । अब तपाईंहरू कसरी अघि बढ्नु हुन्छ त ?
पहिलो त, यो एउटा आपराधिक काम हो । यसमा किन्तु परन्तु केही पनि हुँदैन । यो आपराधिक काम भएकाले कानुन आकर्षित हुन्छन् । यो संविधान र कानुनको बर्खिलाप छ । यो दण्डनीय छ, कारबाहीको भागीदार हुनुपर्छ । दोस्रो, संविधानका पक्षधर दलहरूका बीचमा संविधानको संरक्षण संवर्द्धन गर्ने कुरामा न्यूनतम समझदारी रहिराख्नुपर्छ । तेस्रो कुरा, जनताका असन्तुष्टिको दुरुपयोग गरेर आफ्नो इच्छा पूरा गर्ने चेष्टा एउटा पाटो भयो, त्यसमा संलग्न पात्र र प्रवृत्तिलाई अलग राख्नुपर्छ । हो, नागरिकमा असन्तुष्टि छ, बेचैनी छ । त्यसलाई अनदेखा गर्यौं भने ठूलो मूल्य चुकाउनुपर्छ । हामी पनि सच्चिनै पर्छ, सुध्रिनै पर्छ ।
२०६२/६३ को आन्दोलनपछि दल, नेताहरूप्रति जुन तहको भरोसा थियो, त्यो कायम रहेको भए अहिले सडकमा यो खालका अराजकहरू निस्कने आँट पनि गर्दैनथे । पूर्वराजाले शिर ठाडो पार्ने सपनामा पनि सोच्न सक्दैनथे । यो दुस्साहस कहाँबाट आयो त ? यसको एउटा कारण भनेको, यिनीहरूको मनमा दुस्साहस पहिला पनि थियो । त्यो बेलामा पनि संविधान र परिवर्तन मन परेको थिएन तर आँट थिएन । अहिले त्यो आँट कहाँबाट आयो ? ठूलो पंक्ति अहिले हामीले डेलिभर गर्न नसक्दा हामीसँगै रिसाएको छ । हामीले पनि गल्ती गरेका छौं । यी गल्ती र कमजोरीबाट सिक्नै पर्छ, सच्चिनै पर्छ । यसलाई अलग–अलग राखेर हेर्नुपर्छ । हामीले गल्ती सच्याउनै पर्छ भनेर तीनकुनेको घटना क्षम्य हुँदैन । त्यो अपराध हो, अपराधीलाई कारबाही गर्नुपर्छ । पूर्वराजासहित सबैले दण्ड पाउनुपर्छ । तर, त्यो दण्ड दिँदै गर्दा हामी पनि सच्चिनै पर्छ र सुध्रिनै पर्छ ।
प्रस्तुति : कुलचन्द्र न्यौपाने /कान्तिपुर



