मिश्र र राणासहित ४१ जनाविरुद्ध ६ दिन म्याद थप
काठमाडौँ — राजावादीको गत शुक्रबारको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ४१ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंले ६ दिनको म्याद थप गरेको छ ।
उनीहरुमाथि अनुसन्धानका लागि अदालतबाट थप ६ दिन थुनामा राख्न जिल्ला न्यायाधीश ढाकाराम पौडेलको इजलासले बुधबार आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार मंगलबार पक्राउ परेकाहरुलाई भने ७ सात दिन थुनामा राख्न अनुमति दिइएको छ ।
तीनकुनेबाट पक्राउ परेका उनीहरूविरुद्ध पहिलो पटक ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । प्रहरीका अनुसार राणा र मिश्रसहित ११ जनालाई राज्यविरुद्धको कसुरसहित आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको छ । उनीहरू बाहेक दुर्गा प्रसाईंका सहयोगी लमजुङका मनिन्द्र राजभण्डारी, रूपन्देहीका गोपाल मल्ल, जुम्लाका हरिहर चौलागाईं, रामकुमार धिमाल, सुनसरीका सन्तोष चौधरी, काठमाडौंका पशुपति खड्का, तनहुँका विष्णु पराजुली, झापाका पुष्कर खतिवडा र गोपीकृष्ण खड्काविरुद्ध उक्त कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
यस्तै, स्याङ्जाका देवबहादुर थापा मगर, रौतहटका राज ठाकुर, काठमाडौंका प्रसिद्ध मल्ल, रुकुमका विकास ओली, महोत्तरीका सुदर्शन थापा, खोटाङका राजकुमार राई र भगवती रोक्काविरुद्ध भने आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान हुने प्रवक्ता बोहराले जानकारी दिए ।
यस्तै, उदयपुरका नवीन ढकाल, सप्तरीका आलोक पराजुली, रौतहटका इरफान खान, सिन्धुपाल्चोकका गणेशबहादुर गुरुङ, काभ्रेपलाञ्चोकका विवेक खनाल, बाराका उपेन्द्र साह, मकवानपुरका कृष्णकुमार बस्नेत, चितवनका जीवन पुरी, कैलालीका गणेश प्याकुरेल, दोलखाका सरुन थापा, काठमाडौंका श्रवण लामा, रामेछापका स्टन लामा, नुवाकोटकी सुशीला कुमाल, सिन्धुपाल्चोककी निर्मला कार्की, सुनसरीकी एलिसा राई, सुर्खेतका भविन्द्र बीसी, धादिङका आशिष तामाङ, गुल्मीका लीला राणा, सिन्धुलीकी चित्रमाया बस्नेत र सस्मिता बरालमाथि पनि अनुसन्धान हुनेछ ।
बझाङका नीराजन गिरी, दोलखाका प्रेधबहादुर, कालीकोटका मनीषकुमार शाहीमाथि पनि अनुसन्धानका लागि म्याद थप भएको हो । हिंसात्मक प्रदर्शनमा संलग्नमध्ये १ सय १२ जनालाई प्रहरीले पक्राउ गरे पनि स्वागत नेपाललगायत ८१ जनालाई सामान्य सोधपुछपछि प्रहरीले हाजिरी जमानीमा छाडेको छ ।
तीनकुनेमा राजावादीले गरेको प्रदर्शनले हिंसात्मक रूप लिँदा दुई जनाको ज्यान गएको थियो भने ५५ प्रहरी, २२ सशस्त्र प्रहरी र ५२ जना प्रदर्शनकारीसहित १ सय २९ जना घाइते भएका थिए । घाइतेमध्ये ६ प्रहरी, १ सशस्त्र प्रहरी र १७ प्रदर्शनकारी उपचाररत छन् ।



