आशिष प्रेस्विटेरियन मण्डलीले गर्यो सुनौलो टोलमा सरसफाई कार्यक्रम

दमक, ११ माघ : समुदायमा धार्मिक गतिविधिहरुसंगै सामाजिक सेवाुमुखी कार्यहरु गर्दै आइरहेको दमक–१ सुनौलो टोलस्थित आशिष प्रेस्विटेरियन मण्डलीले आज बिहान सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

स्वास्थ्य जीवनका निम्ति सरसफाई कार्यक्रम अन्तर्गत आशिष प्रेस्विटेरियन मण्डलीले दमक–१ को सुनौलो टोलमा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको हो । सुनौलो टोलस्थित आशिष प्रेस्विटेरियन मण्डलीले शुक्रबार, बिहान एक संक्षिप्त कार्यक्रमबीच सरसफाई अभियानको उद्घाटन गरिएको थियो ।

मण्डलीका प्रमुख पाष्टर आकाश थुलुङ राईको अध्यक्षतामा र सुनौलो टोल विकास समितिका अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । मण्डलीका परिवार र स्थानीवासीहरुको वृहत जनसहभागिता रहेको कार्यक्रममा सुनौलो टोलको विभिन्न चौ–सडकहरुमा सरसफाई गरिएको थियो ।

सरसफाई अभियानको उद्घाटन गर्नुगर्दै प्रमुख अतिथि राजकुमार राईले समाजमा एकता, सम्बन्ध, प्रेम, सद्भाव कायम गर्नका लागि धार्मिक संस्थाहरुले विशेष भुमिका र योगदान पुर्याइरहेकोमा प्रशंषा व्यक्त गर्नुभयो ।

सामाजिक तथा राजनीतिक व्याक्तित्व समेत रहनुभएका सुनौलो टोल विकासका अध्यक्ष राईले मानवस्वास्थ्य, शिक्षा, सुरक्षा र जनचेतनाका लागि कुनै एक संस्था, व्याक्ति र प्रशासनले मात्रै पुरा हुन नसक्ने भन्दै समुदायका सवै नागरिकहरुले सकारात्मक भूमिका देखाउन आग्रह गर्नुभयो ।

प्रमुख अतिथि राईले सुनौलो टोलमा दिनानुदिन मानव बस्ति बढ्दो अवस्थामा रहेको र सरसफाईमा पनि उतिकै ध्यान दिन जरुरी रहेकोमा चिन्ता व्यक्त गर्नुभयो । राईले सुनौलो टोलको सरसफाईमा आशिष प्रेस्विटेरियन मण्डलीले देखाएको सक्रियतालाई हार्दिक आभार व्यक्त गर्नुभयो ।

सो अवसरमा आशिष प्रेस्विटेरियन मण्डलीले सुनौलो टोललाई फलामको स्टेण्डसहितको पाँच थान डस्विन (फोहोर संङ्कलन गर्ने) हस्तान्त्रण गरेको छ । टोल विकासका अध्यक्ष राजकुमार राई, टोल विकासका पूर्व अध्यक्ष गणेशप्रसाद निरौला, सल्लाहकार मानबहादुर कार्कीलाई सो सामाग्रीहरु हस्तान्त्रण गरिएको हो । मण्डलीका तर्फबाट पाष्टर आकाश थुलुङ राई, एल्डर सुरज लिम्बू, एल्डर पावल राई र एल्डर शरण रणपहेली, शारादा राईसहित मण्डली परिवारहरुको सहभागिता थियो ।

सरसफाई कार्यक्रम संयोजक तथा मण्डलीका एल्डर सुरज लिम्बूले सञ्चालन गर्नुभएको कार्यक्रममा सरसफाईको बारेमा जानकारी, यसबाट हुने स्वास्थ्य समस्या र सरसफाईबाट हुने फाइदा लगायतका बारेमा मण्डलीका पाष्टर समेत रहनुभएका दमक नगर इसाई समाजका निबर्तमान अध्यक्ष आकाश थुलुङ राईले प्रष्ट पार्नुभएको थियो । कार्यक्रमको अन्त्यमा पाष्टर राईले सरसफाई कार्यक्रम आयोजकको तर्फबाट सहभागि सवैलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्