राहत रकम उपलब्ध

गोरखा, १९ असोजः खोलाले बगाएर ज्यान गुमाउनु भएकी गोरखाको सहिद लखन गाउँपालिका–६ घैरुङस्थित अधेरीकी ७० वर्षीया बालकुमारी श्रेष्ठको परिवारलाई आज राहत रकम प्रदान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले जिल्ला विपद् व्यवस्थापन कोषबाट पीडित परिवारलाई रु दुई लाख ५० हजार राहत रकम घरमा पुगेर उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले मृतकको परिवारलाई राहत रकम उपलब्ध गराउनुभएको हो । सङ्घीय सरकारबाट प्राप्त रु दुई लाख र प्रदेश सरकारबाट रु ५० हजार राहत रकम मृतककी छोरीलाई हस्तान्तरण गरिएको प्रजिअ दाहालले जानकारी दिनुभयो ।

यही असोज १२ गते बुङकोट स्वास्थ्यचौकीमा उपचार गरेर घर फर्कने क्रममा गाउँपालिका–६ र ७ को सिमानामा पर्ने सुकौरा खोलाले बगाएर श्रेष्ठको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्