झापाको दमकमा ‘आरवि’ फिल्मको छायांकन, कृतिका मुख्य भुमिकामा
इटहरी/ झापाको दमकमा फिल्म ‘आरवि’को छायांकन तीव्र गतिमा अगाडि बढिरहेको छ । सुजेन लक्ष्मी र आर खरेलद्वारा निर्मित यस फिल्ममा झापाली कलाकारहरूको विशेष सहभागिता रहेको बताइएको छ । फिल्मको मुख्य भूमिकामा चर्चित नायक मुकुन भुसाल, ध्रुब कोइराला, आशा विस्वकर्मा र सुमन मोते रहेका छन् । यी कलाकारहरूले फिल्ममा दमदार प्रस्तुति दिने अपेक्षा गरिएको छ ।
फिल्मको शीर्षक पात्र ‘आरवि’को भूमिकामा कृतिका खरेलले अभिनय गरिरहेकी छिन् । उनी उमेरले १३ वर्ष पुगेकी छन् । उनको यो भूमिका सशक्त हुने अनुमान गरिएको छ, जसले फिल्ममा दर्शकहरूको ध्यान खिच्नेछ । झापामा रहेका अन्य कलाकारहरूको पनि उल्लेखनीय भूमिका रहने निर्माण युनिटले जनाएको छ । फिल्मको प्राविधिक पक्षलाई थप सशक्त बनाउन विक्रम डी सिले फिल्मको छायांकनको जिम्मेवारी लिएका छन् । त्यस्तै, फिल्ममा श्रृंगारको जिम्मेवारी सोम मग्रान्तिले सम्हालेका छन् ।
‘आरवि’ फिल्मको निर्देशन सन्देश मोतेले गरिरहेका छन् । पूर्वी नेपालमा लामो समयदेखि फिल्म क्षेत्रमा योगदान दिँदै आएका मोते यस फिल्मका लेखक समेत हुन् । उनमा विगतमा थुप्रै फिल्महरूको निर्देशन गरिसकेका अनुभव छ । जसले यस फिल्मलाई पनि आफ्नो उत्कृष्ट निर्देशन शैलीमा प्रस्तुत गर्न लागिपरेका छन् । संदेश मोतेले पूर्वी नेपालमा रहेर लामो समयदेखि काम गर्दै आइरहेका छन् ।