प्रादेशिक आयुर्वेद अस्पतालले भिडियो एक्सरे, इसीजी, ल्याव लगायतका सेवा विस्तार गर्यो

दमक – झापाको कमल गाउँपालिका वडा नं. ७ स्थित गेउरीयामा अवस्थित प्रादेशिक आयुर्वेद अस्पतालले आफ्नो थप सेवा विस्तार गरेको छ ।

आयुर्वेद अस्पतालले आज आइतबार देखि थप सेवा विस्तार गर्ने भएको छ । अस्पतालले सेवाग्राहीहरुको बढ्दो चाप, माग र आवश्यक्तालाई मध्यनजर गर्दै थप सेवा विस्तार गरेको हो ।

अस्पतालले आज आइतबारदेखि भिडियो एक्सरे, इसीजी, ल्याव लगायतका सेवा विस्तार गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले अस्पतालबाट सेवा विस्तार गरिने उपकरणको उद्घाटन गर्नुभएको थियो । साथै आज नै अस्पतालमा निःशुलक स्वास्थ्य सेवाहरु उपलब्ध गरिएको अस्पतालका कार्यकारी प्रमुख डाक्टर सिद्धार्थ ठाकुरले जानकारी दिनुभयो ।

प्रादेशिक आयुर्वेद अस्पताल स्थापनाका वर्षहरु निकै सघर्षमय दिनहरु थियो, डाक्टर ठाकुरले भने–आज त्यहि अस्पतालले सेवाग्राहीहरुका लागि गुणस्तरीय र प्रभावकारी सेवा दिन सक्ने अवस्थामा आइपुग्न सफल भएको छ । ५० सैया बेडसहितको अस्पतालले तीन वर्षपछि विशिष्ट खालका सेवा विस्तार गरिने अवस्थामा आइपुगेका छौं ।

डाक्टर ठाकुरले अस्पतालमा आवश्यक औषधी र उपकरणका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारसंग हात्तेमालो र सहकार्यमा ल्याउन सफल भएको बताउनुभयो । डाक्टर ठाकुरका अनुसार संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत आपुर्ति विभागबाट विभिन्न प्रकारका उपकरणहरु आइरहेको छ ।

उक्त कार्यक्रममा भिडियो एक्सरे, एक्सरे, इसिजि, ल्यावका सेवाहरुसमेत निःशुल्क गरिएको प्रादेशिक आयुर्वेद अस्पतालका कविराज टेकनाथ अर्यालले जानकारी दिएका छन् ।

संघीय सरकारको झण्डै २० करोड रुपैया लगानीमा निर्माण भएको आयुर्वेदिक अस्पतालमा पछिल्लो समय दैनिक सय जना भन्दा बढी बिरामीले सेवा लिदै आएका छन। अस्पतालमा अन्तरंग सेवा र बिमा सेवा सञ्चालन गरेपछि बिमारीको संख्या वृद्धि हुने अस्पताल प्रशासनले जनाएको छ।

प्रादेशिक आयुर्वेद अस्पतालले १९ जना दरबन्दी गरेको छ भने आइपिडि अर्थात अन्तरंग सेवा नेपालकै लागि तेस्रो अस्पताल रहेको जनाए ।

प्रतिक्रिया दिनुहोस्