कानुन बनाउने कार्य जटिल विषय हो : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कानून बनाउने काम सहज नभएको र गम्भीर रहेको भन्दै शब्द शब्दमा ध्यान दिन आवश्यक रहेको बताएका छन्।
प्रदेश सभा सचिवालयले झापामा आयोजना गरेको प्रदेश तथा स्थानीय तहमा कानून निर्माण प्रकृया र कार्यान्वनयको अवस्था विषयक कार्यक्रममा बोल्दै उनले कानून निर्माण गर्दा देशको संविधान अध्ययन गर्न आवश्यक रहेको बताएका छन्। मुख्यमन्त्री कार्कीले कानून पढेर मात्रै कानून बनाउन नजानिने भन्दै कानून बनाउने काम सबै भन्दा कठिन भएको बताएका छन्। कानून निर्माणको लागि संघीयता आएको पछिल्लो ६ सात वर्षको समय पर्याप्त रहेको उल्लेख गर्दै आवश्यक कानून निर्माण गरी लागू गर्न उनले आग्रह गरेका छन् ।
सुशासनका लागि पनि कानून अति अवाश्यक भएकोले त्यसतर्फ समेत ध्यान दिनु पर्ने कुरामा जोड दिंदै उनले कानून बनाएपछि राजश्व उठाउन समेत सहज हुने र त्यसले स्थानीय तह र प्रदेश सरकारलाई समेत विकास निर्माणका लागि बजेट विनियोजन गर्न सहज हुने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले स्थानीय तहलाई कानून निर्माणका लागि सहयोग गर्न तयार रहेको बताएका छन्।
कोशी प्रदेश सभामुख विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, कोशी प्रदेश उपसभामुख सृजना दनुवार, अतिथिहरू प्रदेश सांसद होम थापा, प्रदेश सांसद तारा देवि ढकाल, प्रदेश सांसद नम्वरलाल धिमाल, कोशी प्रदेशसभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुली, गौरादह नगर प्रमुख छत्रपति सुवेदि, गौरिगञ्ज गा.पा. अध्यक्ष फुलवति राजवंशी र कमल गाऊँपालिकाका अध्यक्ष हुकुम सिंह राई सहित स्थानीयतहका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।