विश्वासको मत लिन बोलाइएको मधेश प्रदेश सभामा अवरोधपछि १० मिनेटका लागि स्थगित
काठमाडौं- मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको मधेश प्रदेश सभा अवरोधपछि १० मिनेटका लागि स्थगित भएको छ। मंगलबार दिउँसो २ बजे सुरु भएको बैठकमा सभामुख रामचन्द्र मण्डलले कारबाही प्रारम्भ भएको जानकारी गराउने बित्तिकै जनमत पार्टीका सांसदले टेबल ठोकेर समय माग गरेका थिए।
सभामुखले दिएको समयमा जनमत पार्टीका प्रवक्ता एवं प्रदेश सांसद चन्दन सिंह कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा आफ्ना तत्कालीन मन्त्रीमाथि भएको हमलाको छानबिन गर्न समिति गठनको माग गरेका थिए। फागुन ६ गते समिति गठन गर्न भनेर गरिएको सहमति सरकारले बेवास्ता गरेको आरोप लगाए।
गत माघ ८ गते सप्तरीमा कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा भएको विवादमा प्रहरीको लाठी प्रहारबाट जनमत पार्टीका तर्फबाट मधेश प्रदेश सरकारमा मन्त्री रहेका महेश यादव घाइते भएका थिए।
उनले कार्यव्यवस्था बैठकमा सहमति नै नभइ बैठक राखिएकोमा पनि असन्तुष्टि जनाए। उनले सरकारको शैली ठीक नभएको भन्दै संसद् अवरोध गरिनुपर्ने बताए। ‘सरकारको कुरा ठीक छैन। यो कुराको हामीलाई पहिले जवाफ चाहियो’, उनले भने, ‘त्यसपछि मात्रै कार्य सञ्चालन होस्।’
त्यसपछि जनमत पार्टीका सांसदहरू यथास्थानमा उठेका थिए।
सिंहपछि एमालेका दीपेन्द्र ठाकुरले व्यक्तिगत घटनामा संसद् अवरोध गर्न नपाइने बताए। ‘जनमत पार्टीका साथी महेश यादवसँग भएको कुटाकुटप्रति मलाई पनि दुःख छ। तर व्यक्तिगत कुराले सदनलाई अवरोध गर्न मिल्दैन’, उनले भन्दै थिए।
ठाकुर बोल्दै गर्दा सिंहले घटना व्यक्तिगत नभएको बताए। त्यसपछि दुई पक्षबीच भनाभन भएको थियो। सदनमा सबै जसो सांसद उठेका थिए। जनमत पार्टीका सांसदहरू वेल घेराउ गर्न गएका थिए। उनीहरूले नाराबाजी सुरु गरेका थिए।
वेल घेराउपछि सभामुख मण्डलले प्रदेश सभाको बैठक १० मिनेटका लागि स्थगित गरेको नेपाल लाइफमा खबर छ |