कोशी प्रदेश प्रमुखद्वारा विशेष अधिवेशन आह्वान
काठमाडौं– कोशी प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ । एक चौथाइ बढी सांसदको मागबमोजिम प्रदेश प्रमुख परशुराम खापुङ्गले वैशाख ६ गतेका लागि विशेष अधिवेशन आह्वान गरेका हुन्।
यसअघि प्रदेश सरकारले डेढ महिनापछि २०८१ जेठ ११ गते प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका गरेको थियो। एमाले र माओवादीले संसदको विशेष अधिवेशन बोलाउन प्रदेशप्रमुख समक्ष माग गरेपछि त्यसलाई छल्न मुख्यमन्त्री केदार कार्कीले हतारहतार जेठ ११ गतेलाई बैठक बोलाउन सिफारिस गरेका थिए।
प्रदेशसभाका सम्पूर्ण सदस्य संख्याको एक चौथाईभन्दा बढी प्रदेशसभा सदस्यहरूको चैत २६ गतेको लिखित अनुरोधमा वैशाख ६ गते बिहीबार दिनको १:०० बजेका लागि प्रदेशसभाको अधिवेशन आव्हान गरेको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मुख्यमन्त्री केदार कार्कीमाथिको समर्थन फिर्ता लिएर एमाले र नेकपा माओवादी केन्द्रका ५३ सांसदले एमाले संसदीय दलका नेता हिक्मत कार्कीको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन माग गरिसकेका छन्।