उपनिर्वाचन हुने क्षेत्रमा २ दिन विद्यालय बन्द

काठमाडौँ- आगामी वैशाख १५ गते उपनिर्वाचन हुने क्षेत्रमा २ दिन विद्यालय बन्द हुने भएका छन्। निर्वाचन आयोगले उपनिर्वाचन हुने इलाम- २ र बझाङ प्रदेश सभा १ का विद्यालयहरू वैशाख १३ र १४ गते बन्द गर्न लेखी पठाउने निर्णय गरेको छ।

आयोगको मंगलबार बसेको बैठकले उपनिर्वाचन हुने क्षेत्रका मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले २ दिनका लागि विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन मुख्य सचिवमार्फत नेपाल सरकारमा लेखी पठाउने निर्णय गरेको हो।

यस्तै आयोगले आचार संहिताको पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सम्बन्धमा नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्तिमार्फत आवश्यक सूचना र विवरण लिई तत्काल कारबाही गर्ने निर्णय गरेको छ।

यस्तै वैशाख २ देखि उपनिर्वाचन सम्पन्न भई मतगणना कार्य सम्पन्न नभएसम्म उपनिर्वाचन हुने जिल्ला भित्र मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवनलाई नियन्त्रण गर्ने गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयमा लेखी पठाउने लगायतका ६ निर्णय आयोगले गरेको छ। 

प्रतिक्रिया दिनुहोस्