ज्यूँदै मरेको कथा
अल्झी डङ्ग लडेँ अचेत म भएँ उठ्दा बिहानीपख
मुर्छामा म परेँ मुढोसरि भएँ हल्ला चल्यो भ्रामक
बोली छैन म सुन्छु कर्ण मधुरो हो लाग्छ स्वप्नासरी
कोही भन्छ मर्यो अकाल विचरा उल्का भयो हे हरि ।
लैजाओ अब झट्ट डाक्टर कहाँ बोले कुनै सज्जन
लाँदा डाक्टरले भन्यो गजबले निस्तेज भो धड्कन
फर्काए घरमै म बाहिर भएँ भित्रै हुलेनन् जब
कात्रो किन्न गए बजारतिर पो मर्ने भएँ झन् अब ।
ल्याए बाँस समीपमा सब कुरा सुन्दै छु आफैँ तर
अर्थी बन्न गयो छिटै अब यहाँ छोड्ने भएँ यो घर
अर्थीमा म भएँ छ चेत मधुरो बोली हरायो सबै
चल्दैनन् सब अङ्ग यी म कसरी ज्यूँदै छु साथी अझै ।
बाँधे टन्न कसे र शङ्ख नजिकै फुक्दै छ कोही जन
मेरो प्राण अझै छ सुस्त तर हा बढ्ने भयो उल्झन
आयो त्यो शवको बहान घरमा हाले मलाई त्यहाँ
माईका तटमा चिताशयनमा जल्दै छु ज्यूँदै जहाँ ।
काटे वस्त्र सबै विवस्त्र म भएँ अत्यासमा अल्झिएँ
राख्दा काठ निधारमाथि म दुखेँ ऐया भनेँ बौरिएँ
हल्ला जोड चल्यो मुखामुख भए सारा मलामीहरू
फन्दामा परिने भयो अब भनी कोही त भागे बरु ।
बोले एक जना तनाव थपियो चाँडो निकालौँ शव
आगो छोड्नु हुँदैन मित्र जन हो फेला परौला सब
ल्याए वस्त्र डढाउने जति थिए छाने कुनै सुन्दर
पैर्याए कपडा सरक्क तिनले ल्याए मलाई घर ।
खुल्दा चेत थिएँ उही शयनमा मान्छे थिएनन् त्यहाँ
आफैँ छक्क परेँ झसङ्ग म भएँ के के भयो हा ! यहाँ
कस्तो यो सपना छुटेर पसिना निथ्रुक्क आफैँ भएँ
सोचेँ स्वच्छ दिमागले अनि उठी अर्कै कुनामा गएँ ।
✍️ लेखक/कविः बिन्दु दहाल (मूकदर्शक)
दमक, झापा।