सुशासनमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनु छ : अध्यक्ष ओली
घोडाघोडी (कैलाली), ६ फागुन : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाइने बताउनुभएको छ ।
नेकपा (एमाले) कैलालीको नवौँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष ओलीले राजनीतिक परिवर्तनलाई मूर्त रुप दिई देशमा सुशासनको बाटोमार्फत समृद्ध नेपाल सुखी नेपाली बनाइने बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक क्षेत्रमा बलिदान ग¥यौँ, अब विकासमार्फत देशलाई परिवर्तन गर्नुछ ।”
अहिले मुलुक गम्भीर मोडमा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “राष्ट्रियता कमजोर भएको छ ।” आफ्नो पार्टीले हरेक पालिकामा अस्पताल बनाउने कुरामा जोड दिएको उहाँको भनाइ थियो । आफ्नो कार्यकालमा गरेका कामलाई अहिलेको सरकारले निरन्तरता नदिएको अध्यक्ष ओलीको आरोप थियो ।
देशमा रोजगारीको सृजना गर्न नसक्नु विडम्बना रहेको उल्लेख गर्दै गाउँबस्ती रित्ता भइरहेकामा चिन्ता व्यक्त गर्नुभयो । “दैनिक हजारौँको सङ्ख्यामा युवायुवती विदेशिएका छन् । म प्रधानमन्त्री भएको बेला उत्पादन वृद्धि भएको थियो, पूर्वाधारको विकास भएको थियो । एकै दिनमा दुई सय १० पालिका सदरमुकाम जोड्ने सडक शिलान्यास गरेको थिए । आज ती सडक अलपत्र छन्”, उहाँले भन्नुभयो, “हामीलाई यो देशमा सुशासन ल्याउनु छ, रोजगारीको अवसर सृजना गर्नु छ, जनताको जीवनमा परिवर्तन ल्याउनु छ ।”