टीकालाल धिमालको कथा संग्रह ‘फाइसालाम्का तालि (उज्यालो कुपि)’ लोकार्पण

बेलबारी — साहित्यकार टीकालाल धिमालद्वारा लिखित कथा संग्रह ‘फाइसालाम्का तालि (उज्यालो कुपि)’ एक विशेष कार्यक्रमका बीच लोकार्पण गरिएको छ।

कार्यक्रमका सभाध्यक्ष शिवनाथ धिमाल रहनुभएको थियो भने बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभयो। कार्यक्रममा वरिष्ठ साहित्यकार हर्कमान तामाङ, धिजाविकेका सह–अध्यक्ष केदार धिमाल, सल्लाहकार कृष्णबहादुर धिमाल, वडा अध्यक्ष योगेन्द्र सुवेदी तथा धिजाविके उपाध्यक्ष रुकमिणि धिमाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

लोकार्पण कार्यक्रममा कृतिमाथि समिक्षा गर्दै साहित्यकार केशु विरही र ईरान राईले ‘फाइसालाम्का तालि’ कथासंग्रहले समाजका विविध यथार्थ, संवेदना र जीवनका सूक्ष्म पक्षलाई कलात्मक ढंगले प्रस्तुत गरेको उल्लेख गर्नुभयो। कथाहरूले स्थानीय जीवन, संघर्ष र आशालाई उजागर गरेको समिक्षकहरूको भनाइ थियो।

प्रमुख अतिथि राईले साहित्यले समाजलाई मार्गदर्शन गर्ने भूमिका खेल्ने उल्लेख गर्दै स्थानीय साहित्यिक सिर्जनाको प्रवर्द्धन आवश्यक रहेको धारणा राख्नुभयो। सभाध्यक्ष शिवनाथ धिमालले लेखक टीकालाल धिमालको निरन्तर सिर्जनात्मक यात्राको प्रशंसा गर्दै पुस्तकले नेपाली कथासाहित्यमा नयाँ उज्यालो थप्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा साहित्यप्रेमी, बुद्धिजीवी र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्