संन्यास लिँदै शरद

काठमाडौँ — नेपाली क्रिकेटका सफल ब्याटर शरद भेषवाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने भएका छन् । शरदले नोभेम्बर ७ देखि ९ सम्म हङकङमा हुने हङकङ क्रिकेट सिक्सेसमा नेपालको कप्तानी गर्नेछन्, जुन उनको अन्तर्राष्ट्रिय क्रिकेटमा अन्तिम प्रतियोगिता हुने नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार जनाएको छ ।

सन् २००२ मा यूएईमा भएको यू–१५ एसिया कपबाट शरदले आफ्नो खेल जीवनको सुरुआत गरेका थिए । नेपालले खेलेको पहिलो प्रथम श्रेणी मान्यता प्राप्त तीनदिवसीय खेल, पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय र पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय टोलीका उनी सदस्य हुन् ।

नेपाली राष्ट्रिय टोलीबाट उनले ‘डेब्यु’ भने २००४ मा आफ्नो जन्मथलो यूएईमा गरेका थिए । प्रथम श्रेणीको मान्यता प्राप्त अन्तरमहादेशीय कप तीनदेशीय प्रतियोगिताको यूएईसँग शारजहाँमा दोस्रो इनिङ्समा अविजित अर्धशतक बनाउँदै शरदले सानदार ‘डेब्यु’ गरेका थिए । नेपालले विश्व क्रिकेट लिग डिभिजन ५ देखि एकदिवसीय अन्तर्राष्ट्रिय यात्रा तय गर्दाको प्रमुख खेलाडी हुन् शरद ।

शरदलाई विशेष सम्झिने भनेको यूएईमै २०१३ मा भएको आईसीसी ट्वान्टी–२० विश्वकप ग्लोबल छनोट थियो, जहाँ उनले उत्कृष्ट फिनिसरको भूमिका निभाउँदै नेपाललाई पहिलो पटक ट्वान्टी–२० विश्वकपमा डोर्‍याएका थिए । हङकङसँगको खेलमा उनले नै विजयी रन बटुलेपछि नेपाल विश्वकपमा पुगेको थियो । विश्वकपमा हङकङविरुद्ध खेलेको खेल नेपालको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पहिलो थियो । शरद यस टोलीका प्रमुख खेलाडी थिए ।

त्यस्तै, २०१८ मा एमस्ट्राडाममा नेदरल्यान्ड्सविरुद्ध गएर खेलेको खेल नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो थियो । शरद यो नेपाली टोलीका पनि सदस्य हुन् । तर शरदले २०२१ मा पछिल्लो एकदिवसीय अन्तर्राष्ट्रिय र २०२२ मा पछिल्लो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेका थिए ।

गत सिजन ३७ वर्षे शरदले चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेलेका थिए । चार खेल खेल्नेक्रममा उनी सबैमा ब्याटिङमा अपराजित रहेका थिए । तर यस पटकको मिनी अक्सनमा उनीमाथि कसैले भाउ लगाएको थिएन ।

शरदको कप्तानीमा सन्दीप जोरा, आदिल आलम अन्सारी, लोकेश बम, बसिर अहमद, रसिद खान, रूपेश सिंहले हङकङमा नेपालबाट सुपर सिक्सेसमा खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्