लालीगुराँस नगरपालिकाका निर्णयविरुद्ध माओवादी केन्द्रको ज्ञापनपत्र
तेह्रथुम, असार २९
लालीगुराँस नगरपालिकाले विद्यालय तह घटाउने निर्णय फिर्ता लिनुपर्ने मागसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लालीगुराँस नगर समितिले आइतवार उपप्रमुख जमुना मगर कार्कीलाई ज्ञापनपत्र बुझाएको छ।
गत असार २६ गते बसेको नगर कार्यपालिकाको बैठकले पालिकाभित्र सञ्चालित कक्षा ११ र १२ रहेका ८ वटा विद्यालयको तह घटाउने निर्णय गरेको थियो। पालिकाको निर्णय अनुसार ती विद्यालयहरूले चालु शैक्षिक सत्र (2081) मा कक्षा ११ मा नयाँ भर्ना लिन नपाउने भनिएको छ।
उक्त निर्णय तत्काल खारेज गर्न माग गर्दै माओवादी केन्द्र लालीगुराँस नगर समितिले ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्र बुझाउने क्रममा माओवादी केन्द्र लालीगुराँस नगर समितिका अध्यक्ष निरोज खड्का, सचिव दिल प्रसाद लिम्वु, पार्टीका नगर समिति सदस्यहरू, वडास्तरका संयोजक, युवा संगठनका प्रतिनिधि, शिक्षक तथा कृषक, गरी झण्डै ३० जनाको सक्रिय टोली सहभागी भएको थियो। टोलीले नगर कार्यपालिकाको निर्णयप्रति जनताको गम्भीर चासो रहेको भन्दै तत्काल जनमुखी निर्णय गर्न आग्रह गरेको थियो।
कृषिमा मल वितरणमा सहजीकरणको माग
नगरपालिकाले अघिल्लो निर्णयमार्फत रासायनिक मल र विषादी प्रयोगमा रोक लगाएपछि किसानहरू उत्पादन संकटमा परेको भन्दै माओवादी केन्द्रले युरिया र डिएपी मलको सहज आपूर्ति, बिक्री तथा प्रयोग सुनिश्चित गर्न माग गरेको छ।
साथै, पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा जैविक मल उत्पादनमा लाग्ने सम्पूर्ण लागत नगरपालिकाले व्यहोर्नुपर्ने पनि माग गरिएको छ।
शिक्षक भत्ता र दरबन्दी वितरणमा पारदर्शिता माग
वसन्त माविका प्रधानाध्यापकसहित ८ जना शिक्षकले विगतदेखि लिँदै आएको प्रअ तथा अन्य भत्ता नियमविपरीत भएको भन्दै हालसम्म लिएको रकम फिर्ता गर्न र भविष्यमा नियमअनुसार मात्र भत्ता वितरण गर्नुपर्ने मागसमेत गरिएको छ।
माओवादी केन्द्र लालीगुराँस नगर समितिले शिक्षा, कृषि र प्रशासनिक निर्णयका विषयमा जनचासो झल्किने गरी ज्ञापनमार्फत मागहरू अघि सारेको छ। ज्ञापनपत्र बुझाउने क्रममा पार्टीका प्रमुख नेतृत्त्वसहित विभिन्न तहका प्रतिनिधिको उपस्थिति थियो, जसले विषयलाई थप औपचारिक र दबाबमूलक बनाएको देखिन्छ।



