मेयरले स्टाटस हटाएपछि उठेको जनआवाज: “हामी विरोधी होइनौं, सुधारको पक्षमा छौं”
लालीगुराँस, — लालीगुराँस नगरपालिकाका मेयरले सामाजिक सञ्जालमा गरिएको एक सुझावमूलक टिप्पणी हटाएपछि स्थानीय बासिन्दाहरूको मन दुखेको छ। सुझावलाई हटाइएपछि जनतामाझ गहिरो असन्तुष्टि प्रकट भएको छ।
स्थानीय युवाहरू, अभिभावक, शिक्षक र सामाजिक अभियन्ताहरूले संयुक्त रूपमा आवाज उठाएका छन् — “हामी नगरप्रमुखको विरोधी होइनौं, तर नगरका समस्यामाथि आँखा चिम्लेर बस्न पनि सक्दैनौं।”
लालिगुरासा नगर पालिका नेकपा माओबादी नगर अध्यक्ष तथा शिक्षाकर्मी निरज खड्काले सुधारका लागि निम्न ७ बुँदामा सुझाव राखेका छन्:
१. ग्रामीण विद्यार्थीको पलायन रोक्ने कार्यक्रम ल्याउनु पर्छ
SEE मा राम्रो अंक ल्याउने विद्यार्थी आर्थिक अभावका कारण राजधानी वा ठूला सहर जान बाध्य छन्। नगरले त्यसलाई रोक्ने दीर्घकालीन योजना ल्याउनुपर्छ।
२. सीपमूलक तालिमलाई विद्यालयमै समावेश गर्ने
मोबाइल मर्मत, कम्प्युटर पाटपुर्जा, बाइक तथा ट्रयाक्टर मर्मत, कुक, मेकानिक आदि सीप विद्यालय तहमै कक्षा ९ देखि १२ सम्म पढाउने व्यवस्था हुनुपर्छ।
३. एक विद्यालय, एक प्राविधिक विषय लागू गर्नुपर्ने
IT, पशु चिकित्सा, स्वास्थ्य विज्ञान, बाली बिज्ञान, वन बिज्ञान जस्ता विषय विद्यालयमै समावेश गरेर स्थानीयस्तरमा रोजगारीको बाटो खोल्न सकिन्छ।
४. खाली जमिनलाई उपयोगमा ल्याउने रणनीति
नगरभित्रका खाली जमिन लिजमा लिएर पढ्दै कमाउँदै गर्ने मोडेल लागू गर्न सके, गरिब घरका बालबालिका पनि शिक्षाबाट वञ्चित हुने छैनन्।
५. गुणस्तरीय शिक्षाको सुरुवात प्राथमिक तहबाटै
कक्षा १–५ र ६–८ सम्ममा सक्षम र गतिशील प्रधानाध्यापक तथा जिम्मेवार विद्यालय व्यवस्थापन समिति नियुक्त गर्नुपर्छ।
६. कम्प्युटर शिक्षा अनिवार्य
कक्षा ३ देखि नै दक्ष शिक्षकमार्फत अनिवार्य कम्प्युटर शिक्षा सुरु गर्नुपर्ने माग गरिएको छ।
७. खेलकुद, संगीत, साहित्यप्रेमी बालबालिकालाई सीपमूलक तालिम
शैक्षिक प्रणालीलाई लचकदार बनाई रुचिअनुसारको सीप र प्रशिक्षण दिने वातावरण बनाउनुपर्ने माग उठाइएको छ।
स्थानीय युवक बिपिन ख्वाङहाङ लिम्बुले सामाजिक सञ्जालमा भने, “नगरप्रमुखले पछिल्लो समय गलत निर्णय लिनुभएको देखिन्छ। उहाँकै स्टाटसहरू नियमित सेयर गर्नेहरूले आज प्रश्न गरिरहेका छन्। हाम्रो आवाज दबाउने होइन, सुन्ने प्रयास गरिनुपर्छ।”
एक स्थानीय नागरिकले भने, “हामी यस नगरमा जन्मियौं, हुर्कियौं, यही संस्कारमा रमायौं। विद्यालय मासिँदा मन रुन्छ, र प्रश्न उठाउँदा स्टाटस हटाउने हो भने त्यो लोकतन्त्र होइन।”
अन्त्यमा उनीहरूको स्पष्ट सन्देश: “हामी विरोधी होइनौं। सुधारको पक्षमा छौं। आलोचना गर्नेमात्रै सत्रु हुँदैन, र समर्थन गर्ने मात्र मित्र हुँदैन।”



