चर्चा कलाकारको पारिश्रमिकको

नेपाली फिल्मी बजार केही कलाकारको वरिपरी घुमिरहेको छ । फिल्म क्षेत्रले नयाँ कथा भन्न नसकेको लामो समय भइसकेको छ । २–४ वटा कथाकै वरिपरी फिल्मी बजार घुमेको पाइन्छ । 

वर्षमा ५ दर्जन बढी फिल्म बनेपनि कथामा नयाँपन आउन सकेको छैन । नयाँ हुन् या पुराना मेकर नै किन नहुन्, उस्तै खाले कथाको वरिपरी घुमिरहेका छन् । फिल्म क्षेत्रमा केही नयाँ परिवर्तन गर्नुपर्छ भनेर आएका फिल्मीकर्मीहरु पनि नयाँ कथा भन्न सकेका छैनन् । 

तर, केही कलाकार र उनीहरुको पारिश्रमिकमै नेपाली फिल्म बजार रुमलिएको छ । जसकाकारण, आजको दिनमा फिल्म निर्माणमा बाढी त आएको छ तर भोलिको दिनमा यसले कस्तो अवस्था निम्त्याउँछ भन्ने प्रश्न सोझिएको छ । 
नायक दयाहाङ राईले आफ्नो पारिश्रमिक ६० लाख पुर्याएको चर्चा खुबै चलिरहेको छ । फिल्मी बजारमा दयाले गरेको कामको चर्चा भन्दा बढी उनको पारिश्रमिकको चर्चा धेरै हुन थालेको छ । 

अब, नायक अनमोल केसी त लामो समयदेखि पारिश्रमिककै वरिपरी रुमल्लिएका छन् । उनले ५० लाख पारिश्रमिक लिने गरेको चर्चा चलेको लामो समयपछि चलिरहेको छ । अनमोलको करिअर  पनि उनकै पारिश्रमिक कै चर्चामा बढी चलेको छ । 

अब, कलाकार केदार घिमिरे पनि यही भिडमा आइसकेका छन् । उनले फिल्म ‘माग्ने राजा’मा ६१ लाख लिएको खुलासा निर्माताले नै गरेपछि यसले अझै बढी चर्चा पाइरहेको छ । फिल्ममा उनले कस्तो काम गरेका छन्, उनको गेटअपले के अर्थ राख्छ भन्ने चर्चा खासै भएको छैन । उनकै ६१ लखको चर्चा बढी हुने गरेको छ । अहिले पनि केदार अन्य फिल्ममा ४०–५० लाख भन्दा कममा काम नै गर्दैनन् । 

यता, नायक समीर भट्टको पारिश्रमिकको चर्चा पनि खुबै चल्ने गरेको छ । उनले फिल्म ‘बलिदान’मा ५१ लाख लिएको चर्चा छ । साथै, समीर अहिले १ करोड दिदा पनि बाहिरी व्यानरको फिल्ममा काम गर्न तयार नभएको चर्चा हुने गर्दछ । 

नायकहरू प्रदीप खड्का, धिरज मगर, पल शाह, प्रकाश सपुतको पनि पारिश्रमिकको चर्चा सामाजिक संजालदेखि मिडियामा हुने गर्दछ । उनीहरू पनि २०–२५ लाखदेखि ४० लाखसम्ममा काम गर्ने गरेको चर्चा हुन्छ । 

कहिले निर्माता आफैले त कहिले कलाकार स्वयंले, यस्ता चर्चा चलाउने गर्दछन् । तर, कलाकारलाई महँगो रकम तिर्दा पनि फिल्मले पानी भन्न नपाउने अवस्था सिर्जना भइरहेको छ । यसले, महँगो रकममा कलाकार लिनुको अर्थ के भन्ने खालका बहस पनि हुने गर्दछन् । तर, फिल्ममा लगानी गर्न आउने नयाँदेखि पुराना निर्माता कुनै नामा चलेको कलाकारलाई फिल्ममा अनुबन्धित गर्नु नै आफ्नो उपलब्धि ठान्छन् । यसले, अबका दिनमा फिल्म नै बनाउन नसकिने अवस्था आएको गुनासो निर्माताहरू गर्न थालेका छन् । 

प्रतिक्रिया दिनुहोस्